Listen LIVE

जागरण अभियानले मधेशी समुदायलाई बुझ्ने अवसर मिल्यो : प्रचण्ड

नेपालगञ्ज : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरेको बताउनुभएको छ । 

सुदुरपश्चिमको टिकापुर जानेक्रममा मंगलवार विहान नेपालगञ्ज विमानस्थल पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले यो अभियानले गर्दा मधेशी समुदायसँग माओवादीको सम्बन्ध सुदृढ, विस्तार र सुमधुर हुनुका साथै मधेशका जनताका समस्याहरु समेत नजिकबाट बुझ्ने अवसर मिलेको जनाए । 

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी राजमार्ग निर्माणको पहल गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएकोबेला भारत भ्रमणमा जाँदा यो राजमार्ग निर्माण गर्न भारतलाई तयार पारेको बताए । उनले सो अभियानबाट माओवादी केन्द्रतर्फ एक नयाँ प्रकारको जनताको आकर्षण र समर्थन देखिएको प्रष्ट पार्दै यसले पार्टीलाई फेरी सबैभन्दा ठुलो बनाउने संकेत पनि देखिएको बताए । 

सरकारले ल्याएका अध्यायदेशहरुको भविष्य बारे सोधिएको एक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री प्रचण्डले भने–‘पहिलो कुरा त संसद सुरु हुन लागेकै बेला अध्यायदेश ल्याउनु निकै अलोकतान्त्रिक र गलत हो, अर्को कुरा जसरी राष्ट्रिय सभामा यो बिषय गएको छ, त्यो हिसाबले अध्यायदेश पास हुने स्थिति छैन, केही अध्यायदेश त कुनै पनि हालतमा पास हुँदैनन् ।’ उनले अध्यायदेश पारित गर्नका लागि ठुलाठुला आर्थिक चलखेलहरु समेत भइरहेको सुनिएको जनाउँदै यसले सरकारको क्षवि झन् बिग्रिने बताए । 

एक अन्य प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले माआवादी केन्द्र अहिले सरकार बनाउने र गिराउने दुबै खेलमा नरहेको प्रष्ट पार्दै आफुहरु अहिले नितान्त जनताका समस्या दुख र पिडा सुन्ने अभियानमा रहेको बताए । उनले यो सरकार जति लामो गए जाओस भन्दै अलोकतान्त्रिक र गलत काम गर्ने सरकारलाई जनताले समय आएपछि आफैँ सबक सिकाउने बताए । 

नेकपा माओवादी केन्द्रले मधेशी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग र बलिदान गरेको दावी गर्दै अध्यक्ष प्रचण्डले अझैपनि उनिहरुको अधिकारका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको प्रष्ट पारे । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानकोे सफलताले बिरोधीहरु आत्तिन थालेको पनि उनले बताए । 

सो अवसरमा माओवादी केन्द्रका महासचिव देव गुरुंग, उपमहासचिवहरु वर्षमान पुन र गिरिराजमणी पोखरेल तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णा कुमारी सुवेदी लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया