Listen LIVE

गाजा शान्ति योजनामा प्रधानमन्त्री नेतान्याहूलाई दबाब दिने ट्रम्पको घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै गाजा शान्ति योजनालाई अघि बढाउने उच्चस्तरीय वार्ता सुरु गर्ने घोषणा गरेका छन्। गत हप्ता अरब नेताहरूसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले गाजाको करिब दुई वर्ष लामो युद्ध अन्त्य गर्ने, हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने तथा प्यालेस्टिनी लडाकू समूहलाई निशस्त्र पार्ने सम्झौता प्रभावकारी रूपमा अघि बढेको दाबी गरेका थिए। 

उनले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै उत्साहपूर्वक भनेका थिए, “सबै पक्ष पहिलो पटक एउटै दिशामा छन्। हामी यसलाई पूरा गर्नेछौँ।”

तर प्रधानमन्त्री नेतान्याहुले भने हालैका गतिविधिमा आशावाद कम देखाएका छन्। उनले शुक्रबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै हमासविरुद्ध ‘अन्तिम लक्ष्य हासिल गर्ने’ प्रतिबद्धता व्यक्त गरे र प्रमुख पश्चिमी राष्ट्रहरूले मान्यता दिएको प्यालेस्टिनी राज्य निर्माणलाई रोकिने घोषणा गरे। 

साथै, गाजा सहरमा जारी सैन्य आक्रमण रोकिने सङ्केत पनि उनीबाट प्राप्त भएको छैन, जसका कारण लाखौँ नागरिक विस्थापित भएका छन्। 

ट्रम्पले भने आफूले केही दिनमै द्वन्द्व समाधान गर्न सक्ने भन्दै कूटनीतिक पहललाई अगाडि बढाइरहेका छन्। यद्यपि, प्रायः नेतान्याहूका कट्टर समर्थक मानिने ट्रम्पले पछिल्ला दिनहरूमा असन्तुष्टि प्रकट गरेका छन्। उनले नेतान्याहुलाई पश्चिम किनार विलय नगर्न चेतावनी दिएका थिए र इजरायलद्वारा कतारमा रहेका हमास सदस्यमाथि गरिएको आक्रमणको पनि विरोध गरेका थिए।

गत हप्तासम्म राष्ट्रपति ट्रम्प संयुक्त राष्ट्र महासभाको साइडलाइनमा अरब र मुस्लिम बहुल मुलुकका नेताहरूसँगको छलफलपछि अझ बढी आशावादी देखिएका थिए। अमेरिकी नेतृत्वमा तयार गरिएको २१–बुँदे प्रस्तावमा हमासको निशस्त्रीकरण, सबै बन्धकहरूको रिहाइ र युद्धविरामको व्यवस्था समावेश गरिएको बताइएको छ।

केही मिडिया रिपोर्टहरूमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई ‘गाजा अन्तर्राष्ट्रिय सङ्क्रमणकालीन प्राधिकरण’ को सम्भावित नेतृत्वका लागि नामसमेत प्रस्ताव गरिएको छ। यस प्राधिकरणले संयुक्त राष्ट्र र खाडी मुलुकहरूको सहयोगमा प्रारम्भिक शासनको जिम्मा लिनेछ र पछि सुधारिएको प्यालेस्टिनी प्राधिकरणलाई जिम्मा हस्तान्तरण गर्ने योजना रहेको छ।

तर नेतान्याहुले आफ्नो संयुक्त राष्ट्र सम्बोधनमा गाजामा पुनः प्यालेस्टिनी प्राधिकरण (पिए) को भूमिका अस्वीकार गरे। उनले आइतबार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा सुधारिएको पिएले इजरायलसँग स्थायी सहअस्तित्व कायम गर्ने सम्भावनामा गहिरो शङ्का व्यक्त गरेका छन्। 

गाजाको युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासको भीषण आक्रमणपछि सुरु भएको हो। उक्त दिन एक हजार २१९ व्यक्तिको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए र यो इजरायलको इतिहासकै सबैभन्दा घातक दिन ठहरिएको छ। 

त्यसपछिको इजरायली आक्रमणले हालसम्म ६५ हजार ५४९ भन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको छ, जसमा पनि अधिकांश नागरिक रहेको संयुक्त राष्ट्रसङ्घले विश्वसनीय ठानेको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया