Listen LIVE

बाँकेका किशोरीमा रक्तअल्पता र तौल असन्तुलन देखियो

नेपालगञ्ज : चालु आर्थिक वर्षमा स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आठ स्थानीय तहका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्तअल्पता तथा तौलसम्बन्धी स्वास्थ्य स्क्रिनिङ गरेको छ। 

स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लका अनुसार १० देखि १९ वर्ष उमेर समूहका ३ हजार ३ सय ७१ जना किशोरीको परीक्षण गर्दा उल्लेखनीय संख्यामा रक्तअल्पता र तौल असन्तुलन देखिएको छ।

परीक्षणमा धेरै किशोरीमा रक्तअल्पता देखिएको छ। तथ्याङ्कअनुसार ०.४ प्रतिशत किशोरीमा ८ ग्राम प्रतिडेसिलिटरभन्दा कम हेमोग्लोबिन भेटिएको छ, जसलाई स्वास्थ्यका दृष्टिले अत्यन्त चिन्ताजनक मानिन्छ। यस्तै १९ प्रतिशत किशोरीमा ८ देखि ११ ग्राम प्रतिडेसिलिटर र ३९.६ प्रतिशतमा ११ देखि ११.९ ग्राम प्रतिडेसिलिटर हेमोग्लोबिन मात्र रहेको पाइएको छ। परीक्षणमा सहभागी ४०.९ प्रतिशत किशोरीमा मात्र रगतको मात्रा सामान्य देखिएको मल्लले जानकारी दिइन् ।

उमेर र उचाइअनुसार गरिएको तौल मूल्याङ्कनमा पनि उल्लेख्य समस्या पाइएको उनले बताइन् । परीक्षणमा सहभागीमध्ये १८.२१ प्रतिशत किशोरीको तौल धेरै कम, २५.९३ प्रतिशतको तौल कम, ३.२३ प्रतिशतको तौल बढी र ०.५३ प्रतिशतको तौल धेरै बढी रहेको पाइएको छ।

मल्लका अनुसार किशोरीहरूमा रगत कम हुनु तथा तौल आवश्यकताभन्दा कम वा बढी हुनु दुवै स्वास्थ्यका दृष्टिले गम्भीर विषय हुन्। अनियमित खानपान, जंकफुडको बढ्दो प्रयोग, पोषणयुक्त भोजनको न्यून सेवन र स्वास्थ्य शिक्षाको अभावजस्ता कारणले यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ।

उनले किशोरीहरू भोलिका दिनमा आमा बन्ने भएकाले अहिले नै रगतको मात्रा कम हुनु भविष्यमा मातृ–शिशु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने उल्लेख गरिन् । रगतको अभावका कारण गर्भावस्था तथा प्रसूति अवस्थामा जटिलता, शिशुमा कम तौल, समयपूर्व जन्म, कुपोषण तथा मातृ–शिशु मृत्युदरसमेत बढ्न सक्ने उनको भनाइ थियो।

माता–शिशु मृत्यु न्यूनीकरण तथा कुपोषणलाई जरैबाट नियन्त्रण गर्न किशोरीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिँदै मल्लले विद्यालय, पालिका, अभिभावक र समुदाय सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताइन् । उनले विद्यालयमा नियमित आयरन चक्की वितरण, पोषण शिक्षा, सरसफाइ र महिनावारी स्वास्थ्य व्यवस्थापनलाई सशक्त बनाउँदै किशोरी स्वास्थ्य सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याइन् ।

प्रतिक्रिया