Listen LIVE

इरानका राष्ट्रपति आज पाकिस्तान जाँदै

काठमाण्डौ : इरानका राष्ट्रपति मसुद पेजेश्कियानले आज पाकिस्तानको औपचारिक भ्रमण गर्ने भएका छन्।  

बीबीसी उर्दूका अनुसार, मसुद पेजेश्कियानले आफ्नो भ्रमणका क्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गर्नेछन्। यसका साथै उनले सिनेटका अध्यक्ष, राष्ट्रिय सभाका सभामुख तथा विदेशमन्त्री इस्हाक डारसँग पनि भेट गर्नेछन्।  

राष्ट्रपतिको हैसियतमा मसुद पेजेश्कियानको यो पाकिस्तानको दोस्रो भ्रमण हुनेछ। यस भ्रमणका क्रममा पाकिस्तान र इरानले द्विपक्षीय सम्बन्धको समग्र समीक्षा गर्ने बताइएको छ। 

हालै अमेरिका र इरानबीच सम्झौतामा हस्ताक्षर भएको तथा स्विट्जरल्यान्डमा दुवै पक्षबीच बैठक सम्पन्न भएको सन्दर्भमा यो भ्रमण विशेष महत्त्वपूर्ण मानिएको छ। उक्त प्रक्रियामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो। 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइल र लेबनानबीचको समस्यामा समाधान निकाल्ने बताएका छन्। 

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सार्वजनिक रूपमा आफ्नो सेना लेबनानबाट फिर्ता नहुने बताएको केही समयमा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। 

यसअघि जेरुशलेममा आयोजित जेएनएस शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेतन्याहुले आफूले ट्रम्पले चाहेका सबै काम नगर्ने बताए। उनले मानिसहरू आफू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकअर्काको निर्देशनअनुसार काम गर्छन् भन्ने ठान्ने गरे पनि वास्तविकता त्यस्तो नभएको बताएका थिए।

प्रतिक्रिया