नेपालगञ्ज : बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको समस्या दीर्घकालीन रुपमा समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राप्ती नदी प्रभावित क्षेत्रका स्थानीयले डुबान र कटानको समस्या सुल्झाउन सक्ने उम्मेदवारलाई मतदान गर्ने जनाएका छन् । ती बासिन्दाले डुबान र कटानको बर्सेनी समस्या झेल्दै आएका छन् ।
उनीहरुले निर्वाचनमा मत माग्न आउने राजनीतिक दलका नेता तथा उमेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन अनुनय गरेका छन् । बर्सेनि हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई मात्रै भोट दिने राप्तीसोनारी गाउँपालिका–७ नयाँबस्तीका शङ्कर यादवले बताए ।
उनले भने ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षातको समयमा राम्ररी निदाउन पनि सकिन्न, त्यसैले यो पटक आश्वासन मात्रै होइने उम्मेदवारले नदी नियन्त्रणको ठोस् योजना ल्याउन जरुरी छ ।’ उनले अहिले चुनावका बेला घरघरमा आएर भोट मागे पनि चुनाव जितेपछि गाउँपालिका अध्यक्ष र सांसद फर्केर गाउँ नजाने गरेको गुनासो गरे ।
बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तरराष्ट्रिय नियम विपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको पीडा झेल्दै आएका छन् । राप्ती नदी तटीय क्षेत्रमा पर्ने बाँके निर्वाचन क्षेत्र नं १ को राप्तीसोनारी र नरैनापुर गाउँपालिका र निर्वाचन क्षेत्र नं २ मा पर्ने डुडुवा गाउँपालिकाका मतदाताले खेतीयोग्य जमिन कटान र डुवानको समस्यालाई चुनावी मुद्दा बनाउन माग गर्दै आएका छन् ।
डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लाले आफूहरू राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित भए पनि अहिलेसम्म सरोकारवाला निकायले समस्याको समाधानार्थ कुनै पहल नगरेको गुनासो गरे । राप्ती नदीले तल्लोतटीय क्षेत्रका बासिन्दालाई बर्सोनि त्रासमा राख्दै आएको छ । राप्तीसोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डेले बाढीले जमिन कटान गर्दै आएको बताए ।
‘नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउना साथ बस्तीमा पस्ने खतरा बढेको छ,’ उनले भने, ‘त्यसैले निर्वाचनमा कस्ले जित्छ हार्छ भन्दा पनि नदी रोकथामको लागि तटबन्धको काम हुन्छ हुँदैन भन्ने हामीलाई चिन्ता र चासो छ ।’ राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका स्थानीय अगुवा लालबहादुर थापाले यो निर्वाचनमा बाढीपीडितको समस्या समाधान र जनताको पक्षमा काम गर्ने व्यक्तिलाई मतदान गर्ने बताए ।
‘अन्य पूर्वाधार विकास गर्दै गरौँला तर बस्ती डुवान र कटानबाट जोगाउन अबको जनप्रतिनिधि गम्भीर बन्नैपर्छ,’ थापाले भने, ‘डुवान र कटानको सममस्या सुल्झाउने प्रतिबद्धता जनाउनेलाई मात्रै भोट दिने हो ।’ राप्ती नदीको आसपासका स्थानीयले हरेक निर्वाचनमा भोट माग्न आउने उम्मेदवारले नदी नियन्त्रणका लागि काम गर्ने आश्वासन दिए पनि काम नहुँदा वर्षायाममा नदीमा आउने बाढीले जग्गा कटान हुने र डुवानको समस्या भोगिरहेका छन् ।
नदी नियन्त्रणका लागि ठोस पहल नहुँदा वर्षायाममा नदीमा आउने बाढीले जग्गा कटान हुने र डुवानको समस्या भोग्नु नियमित जस्तै बनेको राप्तीसोनारी गाउँपालिका–६, जरैयाका स्थानीय भक्तिराम पाण्डेले बताए । बाँकेमा राप्ती नदीले गर्दै आएको कटान नियन्त्रणका लागि तय भएको पश्चिम राप्ती नदी नियन्त्रण आयोजना कार्यान्वयनमा नआउँदा नदी कटान तथा डुवानको जोखिम कायमै रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार