काठमाण्डौ : युद्धविरामपछि शान्त बन्दै गरेको इरानमा सुरक्षाका कारण थातथलो छाडेर हिँडेकाहरु घर फर्किन थालेका छन् । ६ सयभन्दा धेरै इरानीको मृत्यु भएको र १२ दिनसम्म चलेको इजरायल–इरान युद्ध गत मंगलबार युद्धविरामसँगै रोकिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले तेहरानतर्फ जाने राजमार्गहरू व्यस्त हुन थालेको र सडकमा परिवारसहित कारमा फर्किएकाहरु देखिन थालेको उल्लेख गरेको छ ।
फाइनान्सियल टाइम्सले भने युद्धविरामलगत्तै राजधानी तेहरानमा व्यापार व्यवसाय खुल्न थालेको र पेस्ट्री पसलदेखि डेन्टल क्लिनिक र मसाज पार्लरदेखि अन्य सेवा प्रदायकले उपभोक्ता र सेवाग्राहीलाई टेक्स्ट म्यासेज पठाएर सेवा सुरु भएको जानकारी दिएको उल्लेख गरेको छ । लेखेको छ, ’दुई साता सुनसान भएका सडकमा फेरि जाम देखिन थालेको छ ।’
विश्वविद्यालयमा पढ्दै गरेकी एक २६ वर्षीया विद्यार्थी सबाले अलजजिरासँग कुरा गर्दै युद्धअघि आफ्नो जीवन अत्यन्त व्यस्त रहेको बताउँदै युद्धका कारण आफ्ना धेरै साथीले तेहरान छाडेर हिँडेको बताएकी छिन् ।
युद्ध सुरु भएलगत्तै इरानमा इन्टरनेट सेवा अवरुद्ध हुन सुरु भएको थियो भने झन्डै दुई साता यस्तै अवस्था रहेको थियो । युद्धविरामपछि बुधबारबाट इरानमा इन्टरनेट सेवा पनि पहिलेजस्तै सञ्चालन भएको छ । युद्ध जारी रहेका बेला इरानस्थित सञ्चार मन्त्रालयले केही समयका लागि अवरुद्ध भएको इन्टरनेट सेवा जनधनको क्षति रोक्नका लागि बताएको थियो । सरकारले द्वन्द्व चर्किदै जाँदा ह्वाट्सएप अकाउन्ट डिलिट गर्नसमेत निर्देशन जारी गरेको छ । सरकारी टेलिभिजनबाटै नागरिकलाई सुरक्षाका र गोपनीयताको सुरक्षाका लागि ह्वाट्सएप डिलिट गर्न भनिएको थियो ।
युद्धका कारण अस्तव्यस्त बनेको एक करोड जनसंख्या भएको तेहरान आफ्नो पुरानो लयमा फर्किन खोजिरहेको छ । तेहरानस्थित सिम्फोनी आर्केस्ट्राले बुधबार साँझका लागि निःशुल्क मनोरन्जन दिएको थियो । मंगलबार साँझ तेहरानको इन्घेल्याब स्क्वायरमा सरकारी अधिकारीहरु ’विजय उत्सव’ मनाउन भेला भएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार