नेपालगञ्ज : नेपाली कम्युनिष्ट पार्टीकी स्थायी कमिटी सदस्य तथा तत्कालीन संविधानसभा उपसभामुख पूर्णकुमारी सुवेदीले नेपालगञ्ज सद्भाव र सहअस्तित्वको प्रतीक शहर भएको बताउँदै सबै समुदायलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन अपिल गरेकी छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ को समारोहलाई सम्बोधन गर्दै उनले नेपालगञ्ज बहुभाषा, बहुजाति, बहुधर्म र बहुसंस्कृतिको सहर भएकाले यसको पहिचान जोगाउन सबै नागरिकको साझा भूमिका आवश्यक रहेको बताइन् ।
“हिन्दु–मुस्लिम, पहाडी–मधेशी भनेर विभाजन होइन, हामी सबै दाजुभाइ हौँ भन्ने भावना नै नेपालगञ्जको शक्ति हो,” सुवेदीले भनिन् ।
उहाँले वर्तमान विषम परिस्थितिका बाबजुद पनि निर्वाचन नरोकिने स्पष्ट पार्दै चुनाव सर्छ कि हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गरिन् । “चुनाव हुन्छ, सर्दैन, निष्पक्ष र स्वतन्त्ररूपमा निर्वाचन सम्पन्न हुन्छ भन्नेमा हामी विश्वस्त छौँ,” उनले भनिन् ।
चुनावी अभियानलाई भ्रष्टाचारमुक्त समाज, सुशासन र समृद्धिको अभियानका रूपमा अघि बढाइएको उल्लेख गर्दै नेतृ सुवेदीले पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको बताइन् । जनताबीच पुगेर कमजोरी स्वीकार्ने, माफी माग्ने र जनताका दैनिक समस्या बुझेर समाधानमा लाग्ने प्रतिबद्धता पार्टीले लिएको उनको भनाइ थियो ।
नेपालगञ्जको सद्भाव र सामाजिक एकतालाई कमजोर पार्ने कुनै पनि प्रयास सफल हुन नदिने चेतावनी दिँदै उनले लोकतान्त्रिक अभ्यास बलियो बनाउन मतदातालाई निर्वाचनमा सक्रिय सहभागिताका लागि आग्रह गरिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार