Listen LIVE

उचित मूल्य नपाउँदा बाँकेका तरकारी किसान सङ्कटमा

नेपालगञ्ज : बाँके जिल्लामा तरकारी खेती गर्दै आएका किसान उत्पादन राम्रो हुँदाहुँदै पनि उचित मूल्य नपाउँदा गम्भीर समस्यामा परेका छन्। धानबालीसँगै तरकारी खेतीमा निर्भर किसानको सङ्ख्या पछिल्ला वर्षहरूमा उल्लेख्यरूपमा बढे पनि बजार व्यवस्थापन कमजोर हुनु, समयमा मल–बिउ नपाउनु र खुला सीमाबाट भारतीय तरकारी सहजै भित्रिनुले किसानको मेहनतको मूल्य घटाउँदै लगेको छ।

बाँके जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, डुडुवा, जानकी, राप्ती सोनारी, खजुरा र बैजनाथ गाउँपालिकामा मौसमी तरकारी खेती व्यापकरूपमा हुँदै आएको छ। हिउँद र वर्षा दुवै सिजनमा किसानले विभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आएका छन्। तर, खुला सीमा नाकाका कारण भारतबाट अवैधरूपमा तरकारी भित्रिने गरेको र त्यसको प्रभावकारी निगरानी नहुँदा स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१३ का किसान साबितराम सोनकरले आफूले उत्पादन गरेको तरकारी बजारमा लैजाँदा भारतीय तरकारीको सस्तो मूल्यका कारण लागतसमेत उठाउन कठिन भएको बताए। “बीउ, मल, मजदुरी सबै महँगो छ। उत्पादन राम्रो हुन्छ तर बजारमा पुगेपछि मूल्य एकाएक घट्छ,” उनले भने, “भारतीय तरकारी खुलेआम भित्रिँदा हाम्रो तरकारीको मूल्य टिक्दैन।”

जिल्ला कृषि कार्यालयका अनुसार बाँकेमा करिब ६ हजार ८२ हेक्टर क्षेत्रफलमा मौसमी तरकारी खेती हुँदै आएको छ। जिल्लामा वार्षिक ७१ हजार ४४५ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको तथ्याङ्क छ। हिउँदमा मात्रै ४० भन्दा बढी प्रजातिका तरकारी उत्पादन हुने गर्दछन्। धानबालीभन्दा तरकारी खेतीबाट छिटो आम्दानी हुने भएकाले किसानहरू त्यसतर्फ आकर्षित हुँदै गएका छन्। तर, बजारमा भारतीय तरकारी हाबी हुँदा उत्पादनको मूल्य निरन्तर घट्ने गरेको डुडुवा गाउँपालिकाका किसान रामकुमार मौर्य बताउँछन्। “खेती त बढ्यो, तर आम्दानी घट्दै गएको छ,” उनको भनाइ छ।

किसानहरूका अनुसार बजार व्यवस्थापन सहज नहुँदा आफूले उत्पादन गरेको तरकारी मन्डीका साहुलाई अत्यन्तै सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता छ। नेपालगञ्जको रानी तलाउस्थित सब्जी मण्डी भए पनि त्यहाँ भारतीय तरकारीले बजार ओगट्दा स्थानीय किसान निराश बनेका छन्। कोहलपुरका किसान चन्द्रेश्वर यादवले खुला सीमाबाट अवैधरूपमा भित्रिने तरकारीप्रति सम्बन्धित निकायले चासो नदिँदा किसानको मेहनत खेर गएको गुनासो गरे। “न हामीलाई मूल्यको ग्यारेन्टी छ, न त बजारको,” उनले भने।

यस विषयमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बाँकेका कृषि अधिकृत चन्द्रबहादुर बुढाले भारतबाट भित्रिने तरकारीको विषादी परीक्षण र कडाइका साथ नियमन गर्न सके किसानलाई राहत मिल्ने बताए। “स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति, विषादी परीक्षण र बजार व्यवस्थापन सुधार नगरेसम्म किसानको समस्या समाधान हुँदैन,” उनको भनाइ छ।

बाँकेमा तरकारी खेतीप्रति आकर्षण बढ्दै गए पनि मल–बिउको सहज उपलब्धता, प्रभावकारी बजार व्यवस्थापन र सीमाबाट आउने तरकारीको नियन्त्रण नगरेसम्म किसानको आर्थिक अवस्था सुदृढ हुन नसक्ने देखिन्छ। किसानहरू अब केवल उत्पादन बढाउने मात्र होइन, आफ्नो उत्पादनले उचित मूल्य पाउने वातावरण बनाइदिन राज्यका सम्बन्धित निकायसँग ठोस कदमको अपेक्षा गरिरहेका छन्।

प्रतिक्रिया