नेपालगञ्ज : बाँके क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यद्यपि नेपाली कम्युनिस्ट पार्टीले पनि आफ्नो उपस्थिति देखाउने आङ्कलन गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर, मुख्य गरी काँग्रेसका अमर सिंह पुन, एमालेका सुमन मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार र नेपाली कम्युनिस्ट पार्टीका दिपक जिएमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७९ मा यस क्षेत्रबाट काँग्रेसका निवर्तमान सहमहामन्त्री किशोर सिंह राठौरले जित हासिल गरेका थिए । एमाले यहाँ उपविजेता बनेको थियो । क्षेत्र नम्बर ३ मा काँग्रेस जित जोगाउने कोसिसमा रहँदा एमाले पुरानो विरासत फर्काउन प्रयत्नरत छ । नयाँ शक्तिको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी जितको खोजीमा छ ।
नेपाली कम्युनिस्ट पार्टीले पनि २०६४ सालमा तत्कालीन माओवादी रहँदा हासिल गरेका जित फर्काउन चाहन्छ । तर, यो क्षेत्रमा मुख्य गरी त्रिपक्षीय भिडन्त हुने आङ्कलन छ । काँग्रेसका पुन लुम्बिनी प्रदेशका पार्टी सभापति हुन् । रोल्पाका पुन बाँमा चुनाव लड्दै छन् । एमालेका मल्ल गत स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भई पराजित भएका थिए । सुनार दैलेखका हुन् ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ काँग्रेसले १९,८६७ मत, नेकपा एमाले १८,३४९ मत, नागरिक उन्मुक्ति पार्टीले ६,७६५ मत र रास्वपाले ६,४७३ मत प्राप्त गरेका थिए । जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ वडा, जानकी गाउँपालिकाका सबै ६, खजुरा गाउँपालिका सबै ८ र बैजनाथ गाउँपालिकाका सबै ८ गरी २४ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर–३ मा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला गरी कूल १ लाख १७ हजार ३५४ मतदाता छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार