Listen LIVE

समाजसेवी थापाको सहयोगमा दलित परिवारलाई छानो

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका –४ ई गाउँका दिलबहादुर बिक र खिमासरा विक दुईजना साना नातिनीसहित घरमा बस्दै आउएका छन् । डेढ दशक अगाडि छाएका जस्तापाता चुहिने भएपछि उहाँहरुलाई हरेक पटक बर्षामा लत्ताकपडा, अन्नपात र अन्य सामग्री बचाउने चिन्ता हुन्थ्यो ।

बर्षाको पानी छेक्न घरभित्र त्रिपाल लगाएपछि पानी घरभित्र पस्न नरोकिएको खिमसरा बताउँछिन् । सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्ने दिलबहादुरको परिवारमा वर्षा सुरु हुनेबित्तिकै चिन्ता हुन्थ्यो, अन्नपात कसरी जोगाउने, लत्ताकपडा कहाँ सार्ने, नातिनीहरूको किताब कापी कसरी सुरक्षित राख्ने । चुहिने छानोमुनि बितेका ती रातहरू उनीहरूका लागि जीवनको कठोर यथार्थ थियो ।

घरभित्र त्रिपाल टाँगेर पानी रोक्ने प्रयास गर्दा पनि वर्षाको पानी पस्न रोकिएन। कमजोर आर्थिक अवस्थाका कारण नयाँ छाना हाल्ने सपना उनीहरूका लागि निकै टाढाको विषय थियो । 

उनको घरको अवस्थाबारे जानकारी पाएपछि खजुरा –४ डि गाउँ घर भई हाल अमेरिकामा कार्यरत समाजसेवी थापाले नयाँ घर निर्माण गरिदिएका छन् । पुरानै पर्खालमा नयाँ फलामे डण्डि र नयाँ जस्तापाताले घर छाएपछि बर्षौदेखिको चुहिने समस्या अन्त्य भएको भन्दै खिमसरीले खुशी ब्यक्त गरे ।

त्यो नयाँ छानाले केवल वर्षातको पानी रोकेको छैन, एउटा परिवारको वर्षौंदेखिको डर, चिन्ता र असुरक्षा पनि हटाएको छ । अब उहाँहरू वर्षा आउँदा डराएर रात कटाउन बाध्य हुनुहुने छैन ।

खिमसराले भनिन, 'दुःखी गरिबमा कोही हुँदैनन्कि जस्तो लागेको थियो, समाजसेवी लिलबहादुर थापाले हाम्रो दुःख बुझिदिनुभयो, अब हामी बर्षामा पनि ढुक्कका साथमा घरभित्र बस्न सक्ने भएका छौं ।'

समाजसेवी थापाले अमेरिकामा कार्यरत रहे पनि आफू जन्मेको ठाउँ खजुरालगायत देशको बिभिन्न स्थानमा विपन्न समुदायका परिवारका घर निर्माण, खाद्यान्न सहयोगदेखि बिभिन्न सामाजिक काम गर्दै आएका छन् । थापाले भगवानको आशीर्वादले आफूसँग भएको केही रकम गरिब दुःखीहरुलाई सहयोग गर्न पाउँदा आनन्दको अनुभूति हुनेगरेको बताउँछन् ।

प्रतिक्रिया