Listen LIVE

‘स्लो बाइक’ प्रतियोगिताको उपाधि सुवेदीलाई

नेपालगञ्ज : बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि बास नेपालले नेपालगञ्जमा आयोजित स्लो वाइक प्रतियोगिताको छैठौं संस्करणको उपाधि शिशिर सुवेदीले हात पारेका छन् । 

सुवेदीले निर्धारित १०० मिटरको दुरी ३ मिनेट ३० सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । प्रतियोगिताको विजेता भएसँगै उनले नगद १५ हजार रुपैयाँ र प्रमाण पत्र हासिल गरे । 

यसैगरी प्रतियोगितामा दोश्रो र तेस्रो स्थान क्रमशः मो. आरिफ सेख ३ मिनेट २५ सेकेन्ड र अजय बर्नवाल ३ मिनेट ९ सेकेन्ड मा निर्धारित दुरी पार गर्दै हासिल गरे । दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद १० हजार, पाँच हजार रुपियाँ र प्रमाण पत्र प्राप्त गरे । 

नेपालगञ्जको न्यूरोडमा भएको प्रतियोगिताको उदघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बास नेपालले आयोजना गरेको कार्यक्रमले दुर्घटना न्यूनीकरणका लागि देशव्यापी सन्देश प्रवाह गरेको बताए । 

सवारी दूर्घटना न्यूनीकरणका लागि गरिएको स्लो बाईक प्रतियोगिताले युवाहरूलाई सचेत र सजग गराउने जनाउँदै उनले यस्ता कार्यक्रम निरन्तर गर्नु पर्नेमा जोड दिए । 

बासका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माकोे अध्यक्षतामा भएको प्रतियोगितामा निर्णायकको भूमिका ट्राफिक प्रहरी कार्यालयका इश्वरी देवकोटा, एमएस ट्रेड इन्टरनेसनल नेपालगन्जका प्रबन्धक माधव अर्याल र बासका निर्देशक हेमराज भट्टले गरेका थिए । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रतियोगिताको उद्देश्य बारे जानकारी गराए । 

सो प्रतियोगिताले पछिल्लो समय युवा पुस्ताहरू तिब्र गतिमा सवारी चलाउँदा दैनिक जसो दूर्घटनाको सिकार भइरहेको अवस्थामा आम नागरिकहरूलाई सुस्त गतिमा सवारी चलाउदा दूर्घटना जस्तो भयावह अवस्था बाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गरेको सहभागीहरूको भनाइ थियो । 

उक्त प्रतियोगितामा प्राविधिक सहयोग जिल्ला ट्राफिक कार्यालय बाँकेले गरेको थियो भने कार्यक्रमको प्रायोजकमा एमएस ट्रेड इन्टरनेसनल हिरो शोरुम नेपालगञ्ज, यज्ञलक्ष्मी अटो डिस्ट्रिब्युटर होन्डा शोरुम नेपालगञ्ज, पाठक भूसेवा केन्द्र, नेपालगञ्ज, प्राप्ती इन्टरनेशनल बजाज शोरुम कोहलपुरको सहकार्य रहेको थियो । 

प्रतियोगितामा ३७ जनाले सहभागिता जनाएको बास नेपालले जनाएको छ ।

प्रतिक्रिया