Listen LIVE

सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता : मुख्यमन्त्री आचार्य

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताएका छन् ।

एनटिभि कोहलपुरको २९औँ वार्षिकोत्सव समारोहलाई  मङ्गलवार कोहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा होइन, परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने, “हामीले चौथो अङ्गको रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौँ । तर, आज सञ्चारका नाममा स्वच्छन्द वाद फैलाउने प्रवृत्ति देखिन थालेको छ । यसले समाजमा अराजकता र अस्थिरता थप्न सक्छ । यसकारण मिडियाले सत्य, तथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ ।”

प्रदेश सरकार सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै उनले पत्रकारिता कल्याणकारी कोष, उपकरण बिमा, विद्युत् महसुलमा अनुदान, छात्रवृत्ति लगायतका कार्यक्रम अगाडि सारिएको जानकारी दिए । सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड मात्र नभई समृद्ध प्रदेश निर्माणको अभियानको अभिन्न साझेदार भएको बताउँदै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमले जनविश्वास र सुशासन मजबुत पार्न सक्ने धारणा व्यक्त गरे ।

उनले भने,” प्रदेश सरकारको मूल उद्देश्य जनताको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउनु हो । यस अभियानमा सञ्चार क्षेत्र हाम्रो सहयात्री हो ।”

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले प्रदेशको समग्र विकासमा सञ्चारमाध्यमको सहकार्य महत्वपूर्ण भएको बताए ।  एनटिभिलाइ सञ्चार क्षेत्रको ब्रान्डको रूपमा बुझ्ने गरिएको बताउँदै उनले आगामी वर्षका लागि योजनासहित दोब्बर बजेट विनियोजन गरिएको जानकारी दिए ।

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दुर्गाप्रसाद चौधरी, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री भण्डारीलाल अहिर, प्रदेश सभा सदस्य सञ्जु चौधरी, प्रदेश सभा सदस्य अम्बिका काफ्ले, प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठ, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एनटिभि कोहलपुरका प्रमुख निराजन खनालले स्वागत मन्तव्य दिँदै संस्थाको यात्रा र योगदानबारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण एनटिभि कोहलपुरका पुरुषोत्तम सापकोटाले गरेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी, विज्ञापन दाता तथा कार्यक्रम सञ्चालकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया