लुम्बिनी : रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग संवाद गरेका छन् । रूपन्देहीको जिल्ला कारागार जिल्ला सदरमुकामस्थित सिद्धार्थनगर (भैरहवा)मा छ ।
घना बस्तीको बिचमा कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्न गृहमन्त्री लेखकसँग आग्रह गरेका हुन् । उनले कारागारको जग्गा नगरपालिकालाई दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाई अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्री लेखकलाई गराए ।
जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिए । प्रमुख खाँको प्रस्ताव सकारात्मक र समयसापेक्ष रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भवन निर्माणका लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिए ।
भेटपछि प्रमुख खाँले सहरको बिचबाट कारागार स्थानान्तरण गर्न गृहमन्त्री सकारात्मक रहेको उल्लेख गर्दै नगरपालिकाले ओमसतिया गाउँपालिका पटखौलीमा ल्यान्डफिल्ड साइटका लागि नगरपालिकाले खरिद गरेको ६ बिघा जग्गा कारागारलाई दिन सकिने जानकारी दिए । यसका लागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको पालामा प्रक्रिया अगाडि बढेको र त्यसलाई मूर्तरूप दिन वर्तमान गृहमन्त्रीसँग आग्रह गरेको उनले बताए ।
ल्यान्डफिल्ड साइटका लागि खरिद गरिएको जग्गामा स्थानीयले अवरोध गरेपछि उक्त योजना अगाडि बढ्न सकेको छैन । हाल नगरपालिकाले फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रसँग साझेदारी गरी अगाडि बढ्ने गरी प्रस्ताव आह्वान गरेको छ । साझेदारीका लागि दुई वटा फर्मले प्रस्ताव पेस गरेका छन् ।
अन्तिम सूचना प्रकाशनका लागि कार्यविधि निर्माण भइरहेको र फोहोरको दीर्घकालीन व्यवस्थापन छिट्टै अगाडि बढ्ने पनि मेयर खाँले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार