Listen LIVE

न्यायिक छानविन हुनुपर्छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते भएको घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । आन्दोलनका क्रममा मृत्यु भएका, सरकारी सम्पत्ति र निजी सम्पत्तिमा भएको आक्रमणको सत्यतथ्य छानविन हुनुपर्ने बताएका हुन् । 

संघीय सरकारले विकास बजेट रोक्का गर्दा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेको बताए ।

नेकपा एमाले अर्घाखाँची जिल्लाले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास, खानेपानी लगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको बताए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा धेरै काम भइरहेको उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले केही व्यक्तिले सरकारी कार्यालयहरूमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

उनले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले कार्तिक १० गते एमाले अर्घाखाँचीले संविधान संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सद्भाव र्यालीको आयोजना गर्न लागेको जानकारीसमेत गराए ।

कार्यक्रम एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री विष्णुप्रसाद खनाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विक, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया