नेपालगञ्ज : बाँके जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ तयार गरिएको छ । विगतमा भएका विपद् सम्बन्धी घटनाहरूको विश्लेषण गरी विपद्को सम्भावित आंकलन गर्दै पूर्वतयारीको योजना बनाइएको हो ।
बाँके जिल्ला विभिन्न प्रकारका प्रकोपबाट उत्पन्न हुने विपद्बाट उच्च प्रभावित जिल्ला हो । यो जिल्लामा हरेक वर्ष विशेष गरी बाढी, आगलागी, शितलहर, हावाहुरी, लू ,महामारी जस्ता प्रकोपका कारण उत्पन्न विपद्बाट बढी प्रभावित भइरहेको पाइन्छ । त्यसैगरी सुख्खा खडेरी, फौजीकिराको प्रकोप, डुबान, सडक दुर्घटनाबाट पनि जनधनको क्षति भइरहेको पाइन्छ ।
पश्चिम राप्ती नदीमा आउने बाढी र गर्मीयाममा हुने आगलागीका घटना एवम् हिउँदमा हप्तौं चल्ने शितलहरका कारणले जिल्लाका अधिकांश परिवार तथा समुदाय विपद् जोखिममा रहेका छन् । तुलनात्मकरूपमा हरेक वर्ष दोहोरिने र एकैपटक धेरै जनसंख्यालाई प्रभाव पार्ने भएकाले बाँके जिल्लामा बाढी मुख्य प्रकोपको रूपमा रहेको छ ।
विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूको असर र प्रभावको आधारमा बाँके जिल्लामा विद्यमान वा अनुमानित प्रकोपका कारण सृजित बिभिन्न विपद्बाट २५ हजार घर परिवारका १ लाख ५० हजार व्यक्तिहरू प्रभावित हुने अनुमान सहित क्षेत्रगत अवधारणा अनुरूप ८ वटा विषयगत क्षेत्रको प्रतिकार्य योजना र प्राथमिकता प्राप्त पूर्वतयारीको कार्य सहितको योजना विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ मा समेटिएको छ ।
बाँकेमा यस बर्ष बाढीबाट मात्रै १३ हजार बढी घरधुरी बाढीबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।
जिल्ला विपद् व्यस्थापन समितिले तयार गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार, बाढीमा बाँकेका आठ स्थानीय तहका ५२ वटा वडाका १३ हजार २ सय ५७ घरधुरी बाढीको उच्च जोखिममा रहेको पूर्वानुमान गरिएको हो । उक्त घरधुरीका ६५ हजार ४ सय ४२ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।
बाँकेमा बाढीको सबैभन्दा बढी जोखिममा रहेको पालिका राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिका हो । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ का अनुसार राप्तीसोनारीका ९ वटै वडाका ३ हजार २ सय ७९ घरपरिवारका १७ हजार ६ सय ९५ र डु्डुवा गाउँपालिकाका ६ वटा वडाका ३ हजार ८ सय ८२ घरधुरीका १९ हजार ८ सय ५२ जना प्रभावित हुने पूर्वानुमान गरिएको छ ।
बाढीका घटनामा नेपालगञ्जका २ वटा वडा, कोहलपुरका ७ वडा वडा, नरैनापुरका ६ वटा वडा, बैजनाथका ८ वटा वडा, खजुराका ८ वटा वडा, जानकीका ६ वडा वडा प्रभावित हुने पूर्वानुमान रहेको छ । नेपालगन्जका ५ सय १०, कोहलपुरका २ हजार ३४, नरैनापुरका ३ सय ९१, बैजनाथका १ हजार ५ सय ४०, खजुराका १ हजार ४ सय ९५, जानकीका ३ सय २६ घरधुरी प्रभावित हुने पूर्वानुमान रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार