Listen LIVE

पुराना नेता नउठ्दा बाँकेमा बहुपक्षीय भिडन्त

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका दल र उम्मेदवारले चुनावी गतिविधि तीव्र पार्दै गएका छन् । सो क्रममा जिल्लाको क्षेत्र नम्बर ३ मा पनि चुनावी गतिविधि र चर्चा परिचर्चा बढ्दै गएको छ । सो क्षेत्रमा यस पटक सबै उम्मेदवार नयाँ रहेका छन् । सोही कारणले यस पटक नयाँ उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघि गत निर्वाचनमा सो क्षेत्रबाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले यस पटक बर्दियाबाट उम्मेदवारी दिनुभएको छ भने गत निर्वाचनमा पराजित भएकालाई कुनै दलले पनि उम्मेदवार बनाएको छैन । नेपाली कांग्रेसले अमरसिंह पुन र राष्ट्रिय स्वतन्त्र पार्टीले खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । यस पटक सो क्षेत्रबाट नेपाली कांग्रेसका पुन, नेकपा (एमाले) का सुमन मल्ल, नेपाली कम्युनिस्ट पार्टीका दीपक जिएम, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारकसिंह थारू, नागरिक उन्मुक्ति पार्टीका धु्रवराज थारू, जनता समाजवादी पार्टी नेपालका सूर्यलाल यादवले उम्मेदवारी दिएका छन् । 

त्यसै गरी श्रम संस्कृति पार्टीका ओमकार थापामगर, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) का चन्द्रवीर कामी, स्वतन्त्र उम्मेदवार चेतबहादुर वली, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद भण्डारी, स्वतन्त्र उम्मेदवार पदमबहादुर घर्तीमगर, जनमत पार्टीका फिरोज खाँ, आमजनता पार्टीका विद्या शर्मा, नेपाल मजदुर किसान पार्टीका भूमि महतरा, राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनार, राष्ट्रिय जनमत पार्टीका मुबारक अली दर्जी, मितेरी पार्टी नेपालका रूपकुमार चन्दलगायतले उम्मेदवारी दिएका छन् । यो निर्वाचनमा उम्मेदवारी दिएका प्रायः उम्मेदवार नयाँ अनुहार हुन् । सबै जना नयाँ उम्मेदवार भएकाले पनि बहुपक्षीय भिडन्त हुने भएको छ ।

प्रतिक्रिया