नेपालगञ्ज : नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाउने तत्व सक्रिय रहेको बताएका छन्। मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशनका लागि सञ्चालनमा ल्याइएको सचिवालयको उदघाटन गर्दै मन्त्री अधिकारीले सरकारविरुद्ध सङ्गठित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको बताएका हुन्।
“गणतन्त्र विरोधीहरूले अवसरको खोजी गरिरहेका छन्,” मन्त्री अधिकारीले भने “हामीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सरकारका लक्ष्य र उद्देश्यहरू पुरा गर्नतर्फ लाग्नुपर्छ।”
उनले नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अघि सारिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई सबै दलले आत्मसात गरिसकेको भन्दै सोही दिशामा भावनात्मक एकता कायम गरेर अघि बढ्नुपर्ने धारणा राखे।
एमाले नेतृत्वको सरकारका क्रममा देशव्यापी रूपमा विकास र कामको अपेक्षा जागेको भन्दै केही तत्त्वहरू त्यसबाट प्रताडित भएर भ्रम सिर्जना गर्न खोजिरहेको मन्त्री अधिकारीको भनाइ थियो। “जनताका समस्याहरू सम्बोधन गर्न सरकारले आवश्यक ऐन, नियम, कानुनहरू निर्माण गरिरहेको छ,” उनले भने ।“क्याबिनेटले छिटोछरितो निर्णय गर्दै कानुन संशोधन र नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ।”
बाँकेका भूमिहीन नागरिकलाई लालपुर्जा वितरणको काम आगामी महिनाबाट सुरु गरिने जानकारी दिँदै उनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको भवन निर्माणका लागि आवश्यक जग्गा अभावको समस्यालाई समाधान गर्ने प्रयास भइरहेको उल्लेख गरे।
“प्रधानमन्त्री केपी शर्मा ओलीज्यू इत्तेहादको महाधिवेशनमा आउँदा लालपुर्जा वितरण र विश्वविद्यालयको जग्गाको समस्याको समाधान गरेर जनतामा सकारात्मक सन्देश दिने लक्ष्य लिएका छौँ,” मन्त्री अधिकारीले भने।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार