काठमाण्डौ : प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले ६ महिनाको अवधिमा निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताएकी छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौँस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।
परराष्ट्र मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले हालैको ‘जेन–जेड’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिइन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले आन्दोलनलाई नेपालको लोकतान्त्रिक यात्रामा एक ऐतिहासिक मोडको रूपमा व्याख्या गरे । उनीहरूले नयाँ संविधानपछि भएका सीमित उपलब्धिलाई आत्म मूल्याङ्कन गर्दै जनताको वैध आकाङ्क्षाहरूलाई अब पछाडि पार्न नसकिने स्पष्ट पारे ।
अब निष्क्रियताको कुनै ठाउँ छैन,’एक वक्ताले जोड दिए, हामीले जनताको आवाज सुन्ने र तिनको अपेक्षा अनुसार कार्य गर्न फेरि समर्पित हुनै पर्छ ।’
कार्यक्रममा सरकार, कूटनीतिक नियोग र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । उनीहरूले नेपालमा चलिरहेको राजनीतिक सचेतनाको लहरलाई स्वागत गर्दै यसलाई लोकतान्त्रिक अभ्यासको सुदृढीकरणका लागि अवसरको रूपमा लिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार