सुर्खेत : आगामी मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।
उक्त टोलीले आज बिहान वीरेन्द्रनगर स्थिति निर्माणाधीन गौरवको आयोजना प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कर्णालीले पहिलो पटक यतिठुलो संरचना बनाइरहेको भन्दै प्रशंसा गरे ।
‘‘कर्णालीले जमर्को गरेर १०औँ राष्ट्रिय खेलकुदलाई महोत्सव मनाउन अपिल गर्दछु,’’ उनले भने, ‘‘यही अवस्थामा खेलकुद हुन्छ कि हुन्न भन्ने आशङ्का पनि छ । तर म भन्छु यो प्रश्न नै गलत छ । १० औँ राष्ट्रिय हुन्छ, गर्नुपर्छ ।’’
मन्त्री श्रेष्ठले २०८१ मङ्सिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परामर्शका लागि सुर्खेत पुगेर रङ्गशालाको अवलोकन गर्दै तयारीमा जुटेको बताए । संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उनले स्वीकार गरे । उनका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो । तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ । उनले कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि छुट्टै छलफल गरेका थिए ।