बर्दिया : जिल्ला प्रशासन कार्यालय बर्दियाले राहदानी सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र बिचौलियामुक्त बनाएको जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा ७ हजार ८ सय ८४ वटा राहदानी वितरण गरिएको छ । जसमध्ये ५ हजार ७ सय ३ जना पुरुष, २ हजार ८८ जना महिला तथा ९३ जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ७ सय ९७ र २०८०/८१ मा ९ हजार ५ सय ४५ वटा राहदानी वितरण गरिएको कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताए ।
ढकालका अनुसार हाल कार्यालयमा दैनिक औसत ५० देखि ५५ जना सेवाग्राही राहदानीका लागि आवेदन दिन आउने गरेका छन् । केही दिनअघि राहदानी विभागले नयाँ प्रणाली अद्यावधिक गर्दा ५ देखि ७ दिन सेवा प्रभावित भएकाले हाल केही भिडभाड बढे पनि सेवा नियमित रूपमा सञ्चालन भइरहेको बताए ।
अनलाइन फाराम र भौचर तयार अवस्थामा प्राविधिक समस्या नआए करिब ३० मिनेटभित्रै राहदानीसम्बन्धी सेवा प्रदान गरिने प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।
सेवाग्राहीको सहजताका लागि अनलाइन फाराममा भएका सामान्य त्रुटि सच्याउन सकिने व्यवस्था गरिएको छ भने बैंक धाउनु पर्ने झन्झट हटाउन कार्यालय परिसरमै नेपाल रेडक्रस सोसाइटी मार्फत भौचर भर्ने सुविधा उपलब्ध गराइएको छ । राहदानी बनाउने क्रममा समस्या आएमा ह्वाट्सएप समूह मार्फत राहदानी विभागसँग तत्काल समन्वय गरी समाधान गरिने व्यवस्था पनि गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी सुरक्षित आप्रवासन (सामी)कार्यक्रमअन्तर्गत राहदानी बनाउन आउने सेवाग्राहीलाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श, ठगीबाट जोगिने उपाय तथा आधिकारिक माध्यमबाट मात्रै रकम भुक्तानी गर्नुपर्ने विषयमा सचेतना प्रदान गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालयले कार्यालयभित्र बिचौलियाको प्रवेशमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ । सेवाग्राहीलाई समस्या परे कर्मचारी, सहायक प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष सम्पर्क गरी तत्काल समाधान गर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार