Listen LIVE

प्रधानमन्त्री कप क्रिकेट : बागमती ४८ रनले पराजित

दाङ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको छ।

आइतबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ३२.४ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो।

जवाफी ब्याटिङ गरेको बागमती २२.५ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो।

बागमतीका लागि पृथु बास्कोटाले १५ तथा आशुतोष घिरैया र सुमन सुनारले ११–११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बागमतीमाथि फराकिलो जित निकाल्ने क्रममा लुम्बिनीका देव खनाल र बिप्रसन केसीले तीन–तीन तथा निर्मल गुरुङ र रमेश कुर्मीले दुई–दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले बागमतीलाई ११६ रनको लक्ष्य दिएको थियो। लुम्बिनीका लागि आकाश त्रिपाठीले ३३ तथा मनिष थापा र देव खनालले समान १५ रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ बागमतीका गौतम केसीले ४, सूर्य तामाङ र इशान पाण्डेले समान दुई तथा रिजन ढकाल र सोनु देवकोटाले एक–एक विकेट लिएका थिए।

जारी प्रतियोगितामा लुम्बिनी ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। बागमतीले भने चारमध्ये १ खेलमा मात्रै जित निकालेको छ।

प्रतिक्रिया