Listen LIVE

भुवन केसीले थाले ‘बाटुलो जुन’ को बाँकी छायांकन

काठमाण्डौ : निर्देशक तथा अभिनेता भुवन केसीले आगामी फिल्म ‘बाटुलो जुन’ को दोस्रो चरणको छायांकन शुक्रबारदेखि थालेका छन् । त्यसअघि आयोजित एक कार्यक्रममा थप कास्टबारे जानकारी दिइयो ।

यो फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अनुबन्धित भएकी छन् । ‘१२ गाउँ’ डेब्यू सुन्दरीको यो दोस्रो कथानक प्रोजेक्ट हो ।

पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार बिहान आयोजित पूजामा न्यान्सीलाई पनि कास्टको रुपमा परिचय गराइयो । यो फिल्ममा यसअघि अनमोल केसी र प्रिन्सी खतिवडा, प्रकाश घिमिरे, रेयर राई लगायत अनुबन्धित छन् ।

असारमा धादिङको नौबिसे क्षेत्रमा पहिलो चरणको छायांकन गरिएको थियो । त्यतिबेला निर्माताले अनमोल र प्रिन्सीको रोमान्टिक टिजर पोस्टर पनि बाहिर ल्याएका थिए ।

बाँकी छायांकन काठमाडौ, बागलुङको ढोरपाटन, काभ्रेपलाञ्चोक, मकनवानपुरको चित्लाङ र पोखरा लगायतका स्थानमा गरिने जनाइएको छ । पटकथा लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।

सनराइज प्रालिको ब्यानरमा जिया केसीको लगानीमा फिल्म बन्न लागेको हो । चलचित्र विकास बोर्डमा भने फिल्मको बजेट २५ लाख रुपैयाँ उल्लेख छ । यदि यसो हो भने, यो फिल्म अनमोलको करिअरकै सबैभन्दा कम लगानीको फिल्म हुनेछ ।

प्रतिक्रिया