Listen LIVE

सामाजिक सद्भाव कायम राख्ने बर्दियामा सरोकारवालाको प्रतिबद्धता

बर्दिया : जिल्लामा शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा भएको सद्भाव बैठकमा सरोकारवालाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै बर्दियामा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् । 

सदियौंदेखि मिलेर बसिरहेको समाज भड्काउने जोकोहीलाई कानुनी दायरामा ल्याउन सरोकारवालाले प्रशासनसँग माग गरेका छन् । बैठकमा सबै राजनीतिक दलका प्रतिनिध, स्थानीय तहका जनप्रतिनिधहरु, नागरिक अगुवालगायत सहभागी थिए ।

शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव खल्बलाउने जोसुकै समुदायका व्यक्तिलाई प्रशासनले कानुनी दायरामा ल्याउने प्रजिअ हमालले बताए । 'समाजमा खराब प्रवृतिका मान्छे पनि हुन्छन् । त्यस्ता व्यक्तिले व्यक्तिगत स्वार्थका लागि विभिन्न किसिमका अफवाह फैलाउन सक्छन् । त्यस्ता व्यक्तिहरुको पछि लाग्न हुँदैन । त्यस्ता व्यक्तिलाई समयमा पहिचान गरी कानुनी दायरामा ल्याइन्छ,' उनले भने ।  ठूला सार्वजनिक कार्यक्रमको आयोजना गर्दा प्रशासनसँग अनिवार्य समन्वय गर्न प्रजिअ हमालले आग्रह गरे ।

बैठकबाट शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सचारकर्मी, उद्योग व्यापारी, सांस्कृतिक, धार्मिक अगुवा एवंम् सरोकारवाला निकाय बीच निरन्तर समन्वय, सूचना आदान प्रदान तथा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ ।

सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने गतिविधि, भ्रामक सूचना, अफवाह तथा कानुन विपरीतका कार्य नियन्त्रण गर्न सम्बन्धित निकायले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी निगरानी, जनचेतनामूलक कार्यक्रम तथा आवश्यक कानुनी कारवाही गर्ने, सद्भाव कायम राख्ने उद्देश्यले कुनै पनि धार्मिक सांस्कृतिक, सार्वजनिक कार्यक्रम गर्दा प्रचलित कानुन, स्थानीय तहको मापदण्ड तथा सम्बन्धित निकायबाट जारी भएका निर्देशिकाको पूर्णपालना गर्ने तथा अनावश्यक रुपमा चर्को आवाजमा डिजे, माइक, साउण्ड प्रयोग नगर्ने निर्णयसमेत गरिएको छ ।

प्रतिक्रिया