गुल्मी : गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् ।
नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।
यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए ।
उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा–काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए ।
नयाँ लागु गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुङ्गाका लागि १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँका लागि १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएकोे उनले जानकारी दिए ।
निगमले यसअघि काठमाडौँबाट रेसुङ्गाका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि सात हजार ३०० रुपैयाँ भाडादर निर्धारण गरेको थियो ।
विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा तीन हजार ४०२ रुपैयाँ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिए । उनकाअनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ ।
वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमितरूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ । नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ–रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ ।
काठमाडौँबाट आइतबार बिहान ८ः०५ बजे र रेसुङ्गाबाट बिहान ९ः०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट बिहान ६ः१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए । दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ ।
गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् ।
सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिकरूपमा हवाई उडान शुरु गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार