Listen LIVE

'भेरी अस्पतालमा ५० शैयाको समता भवन बनाइने'

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले भेरी अस्पताल, नेपालगञ्जमा ५० शैयाको समता भवन निर्माण गरिदिने घोषणा गरेका छन्।

मंगलबार भेरी अस्पतालको १३६औँ वार्षिकोत्सवका अवसरमा अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खत्रीले आगामी आर्थिक वर्षभित्र आमा मृत्युदर र शिशु मृत्युदर न्यूनीकरण गर्न समता भवन निर्माण गर्ने बताए। उनले मातृ तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन समता भवनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

मन्त्री खत्रीले कोभिड–१९ महामारीपछि भेरी अस्पतालले स्वास्थ्य सेवामा नयाँ उचाइ हासिल गरेको उल्लेख गर्दै अस्पतालको स्तरवृद्धिका लागि लुम्बिनी प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको बताए।

उनले भेरी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले वार्षिक करिब दुईदेखि साढे दुई करोड रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए। आगामी दिनमा पनि अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारको सहयोग निरन्तर रहने उनको भनाइ थियो।

भेरी अस्पतालले पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै मन्त्री खत्रीले अस्पताललाई थप सुदृढ र प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

पूर्वमन्त्री मो. ईस्तियाक राईले भेरी अस्पतालको जनशक्ति व्यवस्थापन, आवासीय नयाँ भवन, नयाँ–नयाँ उपकरणदेखि हरेक समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेको बताए।

सांसदहरू सुरेश चौधरी र केपी खनालले भेरी अस्पतालको सेवा–सुविधा विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा २५ वर्ष सेवा गरेका कर्मचारी तथा कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। मेसु डा. नवीन दर्नालले अस्पतालका बारेमा जानकारी गराएका थिए। सो अवसरमा कर्मचारीहरूले नृत्य र नाटक प्रस्तुत गरेका थिए।

प्रतिक्रिया