Listen LIVE

लागुऔषधसहित बाँकेमा ६ जना पक्राउ

नेपालगञ्ज : बाँकेका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले गरेको लागुऔषधविरुद्धको कारबाहीमा नेपालगञ्ज उपमहानगरपालिका  र जानकी गाउँपालिका क्षेत्रबाट एक किशोरसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित आयल निगम नजिकबाट राप्तीसोनारी गाउँपालिका–२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर विकलाई २ ग्राम २९ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

त्यसैगरी, जानकी गाउँपालिका–६ ओडारपुरबाट नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने १८ वर्षीय किशोरलाई २ सय ४० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गनापुरबाट खटिएको टोलीले गरेको थप अनुसन्धानका क्रममा जानकी गाउँपालिका–६ बस्ने २९ वर्षीय राहुल बर्माको घरमा तलासी गर्दा ५ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । सोही क्रममा राहुल बर्मासहित लागुऔषध खरिद गर्न आएका नेपालगञ्ज–२० बस्ने ४२ वर्षीय जाकिर कुर्मी र ३० वर्षीय शाहरूख खान बेहनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी  कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका–१४ भवनीयापुरबाट ३३ वर्षीय अकबर अलीलाई १ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ । अकबरलाई इलाका प्रहरी कार्यालय हिरमिनियाले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध बाँके प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया