Listen LIVE

नेपालगञ्जमा वैशाख ७ देखि विद्यार्थी भर्ना, १५ गतेबाट पठनपाठन

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना तथा वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

मेयर प्रशान्त विष्टको उपस्थितिमा र बसेको बैठकमा प्रधानाध्यापकहरू, शिक्षक महासंघ, प्यावसन नेपालगञ्ज, एन–प्यावसन नेपालगञ्ज लगायत शैक्षिक सरोकारवालासँगको संयुक्त छलफलबाट उक्त निर्णय गरिएको हो ।

उप–महानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जारी गरेको पत्रअनुसार तत्कालका लागि नेपालगञ्ज उप–महानगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार विद्यालय सञ्चालन गरिने जनाएको छ । संघीय सरकारले स्थानीय तहको सहभागितासहित नयाँ कार्यतालिका सार्वजनिक गरेमा सोही अनुसार कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

निर्णयअनुसार संस्थागत विद्यालयहरूले नेपाल सरकारको पाठ्यक्रमअनुसार तयार भएका पाठ्यपुस्तक मात्र कम्तीमा तीन वर्षसम्म निरन्तर रूपमा लागू गर्नुपर्नेछ । यस्तै, सामुदायिक तथा धार्मिक विद्यालयहरूले विद्यार्थी भर्नासँगै सरकारी पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, संस्थागत विद्यालयहरूले उप–महानगरपालिकाले तय गरेको मापदण्डभित्र रहेर मात्र विद्यार्थी शुल्क लिनुपर्ने निर्णयसमेत गरिएको छ ।

प्रतिक्रिया