काठमाण्डौ : नेपाली यू–२० महिला भलिबल टिमले यही जुलाई १८ देखि माल्दिभ्समा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिप खेल्दैछ । पहिलो पटक नेपालको उमेर समूहको टोली बनाएर उक्त प्रतियोगिताका लागि अहिले तयारी चलिरहेको छ ।
नेपाल भलिबल संघले पहिलो पटक यू–२० टिम बनाएर अन्तर्राष्ट्रिय उमेर समूहको प्रतियोगितामा खेल्न लाग्दा खेलाडीसँगै प्रशिक्षक संघ र समग्र नेपाली भलिबल नै उत्साहित छ ।
‘एकदमै खुशी र रमाइलो क्षण हो यो । सबै जना उत्साहित छौँ’, मुख्य प्रशिक्षक कुमार राईले भने, ‘दुई दशक भलिबलमा काम गर्दा पहिलो पटक उमेर समूहको राष्ट्रिय टोली हेर्न पाएको छु । यो ठूलो कुरा हो ।’
राईले न्यु डायमण्ड एकेडेमीमार्फत नेपाली महिला भलिबलमा धेरै खेलाडी उत्पादन गरेका छन् । त्यसैले पनि उनको हर्ष बढेको छ ।
भलिबल संघले सहाना प्रधान पाउण्डेसनसँग मिलेर सहाना प्रधान यू१९ भलिबल आयोजना गरेको थियो । त्यसैबाट यू२० राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिएको हो । उक्त प्रतियोगिता सकिने बित्तिकै संघले खेलाडी छनोट गरेर काभा यू२० का लागि तयारी सुरु गरेको थियो ।
प्रशिक्षक कुमार राईले प्रशिक्षणको समयअवधि अझ बढी भएको भए राम्रो हुने बताए । ‘अलिकति प्रशिक्षण अवधि कम भयो । कम्तिमा एक महिना हुनुपर्ने । तर पनि केही छैन राम्रो नै छ’, उनले भने ।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीहरु पनि उत्साहित छन् । ‘भलिबल खेलेकै कारण पहिलो पटक विदेश यात्रा गर्न पाउँदा खेलाडीहरु उत्साहित छन्’, प्रशिक्षक राईले भने, ‘अरु कराते तेक्वान्दो ब्याडमिन्टनजस्ता व्यक्तिगत खेलका जुनियर खेलाडीहरुले विदेशमा खेलिरहेका हुन्छ । भलिबल खेलेर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाइने रैछ भनेर उनीहरु उत्साहित छन् ।’
नेपाली टिमको कप्तान रहेकी जेनिशा विश्वकर्माले काभा च्याम्पियनसिप खेल्न पाउनु ठूलो अवसर रहेको बताइन् । ‘पहिलो पटक यू२० टिम बाहिर खेल्न जान लागेकोले हामी एकदमै उत्साहित छौँ । नेपालको जर्सी लगाएर खेल्ने अवसर आउँदा सबैलाई खुशी लागेको छ’, जेनिशाले अनलाइनखबरसँग भनिन्, ‘हामीले त्यसै अनुसार तयारी पनि गरिरहेका छौँ ।’
पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा नै कप्तानको भूमिका पाएपछि जेनिशा पनि गद्गद् छिन् । भनिन्, ‘जुन भरोसा राखेर र विश्वास गरेर कप्तानी दिनुभाछ त्यो विश्वासलाई कामय राख्दै टिमलाई राम्रोसँग नेतृत्व गरेर खेल्छु ।’
प्रशिक्षक कुमार राईले उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता भलिबलको विकासमा सहयोग पुग्ने बताए । ‘भलिबलको विकास गर्ने नै उमेर समूहबाट हो । यू–१५, यू–१८, यू–२० भइरहनप¥यो तब मात्र खेलाडी तलबाट ग्रो अप हुन्छ’, उनले भने, ‘संघले राम्रो सुरुवात गरेको छ । यसरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु राम्रो हो । भलिबलको विकास अब सुरु हुन्छ ।’
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पछिल्लो समय नेपालमा भलिबलका गतिविधिहरु बढिरहेको भन्दै भलिबलमा राम्रो दिन आइरहेको बताउँदै आएका छन् ।
नेपालले सिनियरका साथै अब उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेल्दैछ । महिला र पुरुषको फ्रेन्चाइज लिगको लागि निजी कम्पनीसँग एमओयु समेत गरिसकेको छ । यसले उमेर समूह नयाँ प्रतिभावान खेलाडीका लागि राम्रो अवसर पाउने संघको विश्वास छ ।