काठमाण्डौ : नेपाल छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
इरानको तेहरानमा जारी प्रतियोगितामा इराकलाई ६२ अंकको अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
नेपाल, इरान र इराक रहेको समूह बीबाट शीर्ष २ स्थानमा रहँदै नेपाल र इरानले सेमिफाइनलमा स्थान बनाएका छन्। इराक दुवै खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।
समूह बीमा रहेको नेपालले इराकविरुद्ध ६८ अंक बनाउँदा विपक्षी इराक कमजोर देखीयो। उसले मात्र ६ अंक बनाउन सक्यो। कप्तान मानमती विष्टले १४ अंक डिफेन्समा तथा जयन्ति बड्डुले ७ अंक ल्याइन्।
समूह बि को अर्को खेलमा इरानले इराकलाई ४५ अंकको अन्तरमा पाखा लगाएको छ। ऋब शुक्रबार हुने समूह चरणको अन्तिम खेलले समूह विजेताको टुङ्गो लगाउने छ। अन्तिम खेलमा इरान र नेपाल नै भिड्छने छन्।
समूह चरणको खेलमा इरानलाई हराउन सके, सेमिफाइनलमा नेपालको भेट बंगलादेश र थाइल्याण्डसँग हुनेछ। समूह चरणको खेल बराबरीमा सकिएपनि नेपाल समूह विजेता बन्नेछ।
नेपालले ६८ अंक स्कोर गर्दा विपक्षीबाट मात्र ६ अंक आएको छ भने इरानले ५८ अंक बनाउदा विपक्षीले १३ अंक बनाएको छ।
समूह बीमा नेपाल इरानसँग पराजित भएको खण्डमा सेमिफाइनलमा नेपालको प्रतिस्पर्धा भारतसँग हुनेछ। भारत बलियो प्रतिद्वन्द्वी हो। अहिलेसम्म भएका ५ संस्करणमा भारतले ४ संस्करणको उपाधि जितीसकेको छ।
कम्तिमा उपविजेता बन्न नेपालले समूह चरणमा इरानलाई हराउँनै पर्नेछ। सेमिफाइनल पुग्ने वित्तिकै नेपाल तेस्रो हुने निश्चित छ।
जरी प्रतियोगितामा समूह ए बाट लगातार २ खेल जित्दै भारत सेमिफाइनलमा पुगि सकेको छ भने १–१ खेल जितेका बंगलादेश र थाइल्याण्डको सेमिफाइलमा पुग्ने सम्भावना छ। मलेसिया दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ।
समूह चरणको आफ्नो अन्तिम खेलमा मलेसियाको भारतसँग प्रतिस्पर्धा हुने भएकाले भारत नै समूह विजेता बन्ने निश्चित छ। यो समूहबाट बंगलादेश र थाइल्याण्डबीचको विजेता नै सेमिफाइनलमा पुग्ने छन्।
२ खेलको समाप्तिमा दुवैले एक–एक खेल जितेका छन्। बंगलादेशले ७५ अंक विपक्षी विरुद्ध हान्दा विपक्षीबाट ७६ अंकको सामना गरेको छ। ६६ अंक बनाएको थाइल्याण्डसामु विपक्षी ९० अंक बनाएका छन्। अकं अन्तरमा बंगलादेश अगाडि छ।
थाइल्याण्डले मलेसियालाई ४५–२४ अंकले हराउँदा बंगलादेशले मलेसियालाई ५२–१२ ले पाखा लगाएको छ। थाइल्याण्ड भारतसँग ७६–२१ ले तथा बंगलादेश भारतसँग ६४–२३ ले पराजित भएका छन्।
च्याम्पियनसीपमा १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली इरानमा छ। प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्याण्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी छन्।
मानमति विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आश्मा यादव र विनिता पण्डित क्षेत्री छन्। पदाधिकारी अरविन्दकुमार झा, प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङ छन्।
नेपालले १९ औँ एशियाडमा काँस्य पदक जितेको थियो। सो एशियाडमा नेपाल समूह चरणमा इरानसँग र सेमिफाइनलमा भारतसँग हारेको थियो।
सन् २००५ मा शुरु भएको एशियन च्याम्पियनसीपको ५ संस्करणमा भारत ४ पटक र दक्षिण कोरिया एक पटक च्याम्पियन भएका छन्। इरान २ पटक उपविजेता बन्दा जापान , थाइल्याण्ड र दक्षिण कोरिया पनि एक–एक पटक उपविजेता बनेका छन्। पुरुषतर्फको एसियन च्याम्पियनसिपको पहिलो संस्करणमा नेपाली पुरुष टिम तेस्रो भएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार