Listen LIVE

रवीन्द्र मिश्रद्वारा राजीनामा घोषणा

काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट विदा लिएको घोषणा गरेका छन्।

निर्वाचनमा पराजयपछि उनले आज सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

मिश्रले आफ्नो निर्णय कुनै निराशा, हताशा वा हतारमा नभई धेरै सोचविचारपछि लिएको बताएका छन्। पार्टीका वरिष्ठ उपाध्यक्षको हैसियतमा राजसंस्था पुनस्र्थापनाको पक्षमा देशभरि देखिएको जनमतलाई संगठित र पूँजीकृत गर्न पार्टी बारम्बार असफल भएको स्वीकार गर्दै त्यसका लागि आफू पनि जिम्मेवार रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा उनले आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको र आगामी समयका लागि स्वतन्त्र रूपमा आफ्ना विचार र अडानहरू सार्वजनिक गर्दै जाने बताएका छन्।

मिश्रले राजसंस्था पुनस्र्थापना, सुशासन लगायतका मुद्दामा आफ्नो अडान भने यथावत रहने स्पष्ट पारेका छन्। बदलिँदो भूराजनीतिक परिस्थिति र आन्तरिक रूपमा क्षयीकृत हुँदै गएको अवस्थाबीच देशलाई बचाउन र बनाउन नवीन समझदारी तथा संरचनागत पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ।

गत नौ वर्षको आफ्नो राजनीतिक यात्रालाई ‘उतार–चढावपूर्ण’ भन्दै उनले राजनीतिक तथा राष्ट्रिय रूपान्तरणका लागि आफूले इमानदारीपूर्वक प्रयास गरेको तर त्यो पर्याप्त नभएको उल्लेख गरेका छन्। “देशभन्दा माथि स्वार्थ राखेर व्यक्तिले पाउने तर देशले नपाउने काम कुनै हालतमा गर्ने छैन,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

मिश्रले आफ्नो राजनीतिक यात्रामा साथ दिने देश–विदेशका नेपाली तथा पार्टीका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। साथै उनले राप्रपालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई तथा शुभकामना दिएका छन्।

प्रतिक्रिया