Listen LIVE

कैलालीमा कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

कैलाली : कैलालीमा मरेको कुखुराको मासु खाँदा एकै घरका दुई बालकको मृत्यु भएको छ । घटनामा घर मुली महिला र उनका अर्का छोरा पनि गम्भीर बिरामी परेका छन् । चुरे गाउँपालिका–३ भक्तपुर निवासी राधिका ताम्राकारका छोराहरू पाँच वर्षीय दीपक ताम्राकार र आठ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शुक्रबार मरेको कुखुराको मासु खाएपछि गम्भीर बिरामी परेका उनीहरूको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए । मृतक बालककी आमा २८ वर्षीया आमा राधिका ताम्राकार र उनका तीन वर्षीय अर्का छोरा दिपेश ताम्राकार गम्भीर बिरामी परेका छन् ।

उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमै उपचार जारी रहेको प्रहरीले जनाएको छ । ताम्राकार परिवारले स्थानीय विकास पोल्ट्री फार्मबाट ल्याएको मरेको कुखुराको मासु खाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । उक्त फार्म मङ्गल साउदले सञ्चालन गर्दै आएका छन् । घटना सार्वजनिक भएपछि उनी आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया