डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका –६ हिरमिनियाका चर्चित किसान जयपाल मौर्यले यस वर्ष आठसय क्विन्टल आलुको बिउ उत्पादन गरेका छन् ।
गत वर्ष राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका ४३ वर्षीय किसान मौर्यले यस वर्ष १०१ कठ्ठा जमिनमा आलुको बिउ रोपेर ८०० क्विन्टल बिउ उत्पादन गरिएको उनले बताए ।
दुई दशकदेखि कृषिमा सक्रिय मौर्यले यस वर्ष आलुको बिउ निकै राम्रो उत्पादन भएको जनाउँदै उत्पादन गरिएको बिउ स्थानीय सरकारले निर्माण गरेको कोल्ड स्टोरमा भण्डारण गरिएको बताए ।
उनका अनुसार यस वर्ष उन्नत जातको …कार्डिनलÚ आलु ठुलो क्षेत्रफलमा खेती गरिएकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको हो । अघिल्लो वर्षमा सीमित उत्पादन हुने उक्त जातको आलु यस पटक बढी जमिनमा लगाइएकाले राम्रो उत्पादन भएको उनको भनाइ छ ।
सो आलु उत्पादन खेतीमा करिब पाँच लाख रुपैयाँ लगानी भएको जानकारी दिँदै मौर्यले आलु रोप्ने सिजनमा कोल्ड स्टोरबाट बिउ निकालेर प्रतिकिलो ३५ देखि ५५ रुपैयाँसम्म बिक्री हुने बताए । यसबाट करिब १२ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
किसानहरूका अनुसार कात्तिक मसान्त वा मङ्सिरमा रोपिएको आलुको बिउ उत्पादन हुन ९० देखि १२० दिनसम्म लाग्ने गर्दछ । कोल्ड स्टोरमा बिउ राख्दा प्रतिकिलो चार रुपैयाँ शुल्क लाग्ने गर्दछ । डुडुवासँगै कोहलपुरमा पनि कोल्ड स्टोर सुविधा उपलब्ध रहेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेको प्रमुख विनोद घिमिरेले किसान मौर्यलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराइएको जनाउँदै उन्नत जातको पीबीएस दानाबाट बिउ उत्पादन गरिएको बताए । उनले यस वर्ष निकै राम्रो बिउ उत्पादन भएको बताए ।
त्यसैगरी, कृषि ज्ञान केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले गुणस्तरीय आलु बिउ उत्पादनका लागि किसानले अनिवार्यरूपमा तालिम लिनुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार सिन्धुपाल्चोकबाट ल्याइएको पीबीएस दानाबाट बाँकेमा राम्रो उत्पादन भइरहेको छ । जिल्लामा उत्पादन भएको आलुको बिउ ग्रेडिङ गर्ने कार्य अहिले भइरहेको जानकारी बाँकेका किसानले दिएका छन् । एक सातादेखि आलुको बिउ ग्रेडिङ भइरहेको हिरमिनियाका किसान मौर्यले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार