Listen LIVE

खेलकुदको सहर बन्दै नेपालगञ्ज

नेपालगञ्ज : नेपालगञ्जलाई चिनाउने अर्को परिचय भनेको खेलकुद सहर हो । नेपाली खेलकुदवित्तमा नेपालगञ्जलाई खेलकुदको सहर भनेर पनि चिनिन्छ । 

२०५४ सालमा चौथो राष्ट्रिय खेलकुदको सफल आयोजना गरिसकेको नेपालगञ्जमा २०७६ सालमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो । यसले नेपालगञ्जलाई ठुला प्रतियोगिता आयोजना गर्ने सहरको रूपमा परिचित गराएको छ ।

नेपालगञ्जले ठुला प्रतियोगितामा मात्र होइन नेपाली खेलकुदमा ऐतिहासिक छाप छाड्ने थुपै्र खेलाडीहरू जन्माएको छ र त्यो अहिले पनि जारी छ । नेपालको पहिलो ओलम्पियन महिला खेलाडी पार्वती थापा देखि लिएर नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको पहिलो कप्तान नेरी नेपालगञ्जकै हुन् । 

ओलम्पियन सुरेन्द्र हमाल, पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान एलबी क्षेत्री जस्ता इतिहास बनाउने खेलाडी उत्पादन गर्ने सहर हो नेपालगन्ज । नेपालगञ्जका फुटबलका दिपक सिंह ठकुरीले केहि वर्ष अघिमात्रै राष्ट्रिय टोलीबाटै खेलेर सनसनी मच्चाएका थिए । 

फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, भारोत्तोलन, सुटिङ जस्ता धेरै खेलमा नेपालगन्जले आफुलाई अब्बल सावित गर्ने गरेको छ । खेलाडीमात्र होइन नेपालगन्जमा हुने ठुला प्रतियोगिताले पनि यहाँको खेलकुद, आर्थिक, धार्मिक, सांस्कृतिक र सद्भावलाई बलियो बनाउने काम गरिरहेका छन् । 

नेपालगञ्जमा हुने नेपालगञ्ज गोल्डकप फुटबल, नेपालगञ्ज म्याराथन, टुर दी ठाकुरद्धारा साइक्लिङ लगायतका प्रतियोगिताले नेपालगन्जलाई खेलकुदको सहर भनेर थप चिनाउने काम गरिरहेका छन् । 

प्रतियोगिता मात्र नभएर राष्ट्रियस्तरका खेलकुद सङ्घमा पनि नेपालगञ्जले आफुलाई सशक्त रूपमा उभ्याउने गरेको छ । नेपालगञ्जका गोविद्र्धन सिंह सम्झना अखिल नेपाल फुटबल सङ्घको पुर्व उपाध्यक्ष, बिनोद मैनालीले नेपाल क्रिकेट सङ्घको पुर्व उपाध्यक्ष, प्रदेशसिंह राठौरले अखिल नेपाल फुटबल सङ्घको पुर्व केन्द्रिय सदस्यको रूपमा आफनो जिम्मेवारी पूरा गरेका थिए । 

भीम ओली नेपाल भलिबल सङ्घको वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्छ भने भोजराज शाही अखिल नेपाल फुटबल सङ्घको केन्द्रिय सदस्य छन् । यसले नेपालगञ्ज खेलकुदका प्रतियोगिता, खेलाडी, भौतिक पुर्वाधार मात्र होइन नेतृत्वको रूपमा अब्बल छ भन्ने प्रमाणित गर्छ । 

धार्मिकरूपमा विविधता भएको सहर नेपालगञ्जमा खेलकुद महत्त्व अझ धेरै छ । सबै जात, धर्म र समुदायका मानिसलाई राष्ट्रियताको भावनामा बाध्ने काम खेलकुदले गरिरहेको हुन्छ । नेपालगञ्जमा खेलकुदले धार्मिक संहिष्णुतालाई बलियो बनाउन अहम भुमिका खेलिरहेको हुन्छ । 

नेपालगञ्ज रङ्गशालासँगै बाँके जिल्लाका हरेक स्थानीय तहमा पछिल्लो समय खेलकुदका गतिविधि र पुर्वाधार तिव्र गतिमा विकास भइरहेको छ । खजुरामा बनेको शुक्र भलिबल स्टेडियम, नरैनापुरको रङ्गशाला त्यसको उदाहरण हुन् । 

खेलकुदमा नेपालगञ्जले आफूलाई अब्बल रूपमा प्रमाणित गरे पनि खेलकुदका क्षेत्रमा यहाँ गर्नु पर्ने धेरै कुरा बाँकी छन् । कोभिड–१९ पछि आर्थिक मन्दीका कारण खेलकुदले जुन रूपमा गति लिनुपर्ने हो त्यसमा केहि कमी आएको थियो । 

अहिले नेपालगञ्जमा विस्तारै खेलकुदमा थप नयाँ प्रतियोगिताहरूको पनि सुरुआत भैरहेको छ । आगामी फागुनमा नेपालगञ्ज रङ्गशालामा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । यसले नेपालगञ्जलाई फुटबलको स्तरलाई माथि उकास्नमा महत्त्वपूर्ण सहयोग गर्नेछ । 

हरेक प्रतियोगिता वा कार्यक्रमहरूको प्रभावकारिता आर्थिक पक्षसँग जोडिएको हुन्छ । नेपालगन्जले खेलकुदमा आफूलाई ऐतिहासिक रूपमा चिनाए पनि आर्थिकरूपमा पनि खेलकुदका प्रतियोगिता अझै पनि कमजोर देखिन्छन् । खेलकुद प्रतियोगितामा व्यावसायिकताको कमी छ । खेलकुदलाई व्यावसायिकतासँग जोडेर काम गर्ने वातावरणको कमी छ नेपालगञ्जमा । 

खेलकुद भनेको खेलाडी र खेलकर्मीका लागि मात्र होइन । खेलकुद भनेको स्वस्थ नागरिक उत्पादन गर्दै आफनो समुदाय, समाज, सहर अनि देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने शसक्त माध्यम हो । त्यसैले नेपालगञ्जमा खेलकुदको वातावरणलाई अझ प्रभावकारी बनाउन यहाँका आम मानिससँग खेलकुदलाई जोड्न सक्नुपर्छ । खेलकुद भनेको मित्रता, एकता, सहकार्य अनि आर्थिक उन्नतिको माध्यम पनि हो ।

कुनै पनि प्रतियोगिता वा खेलकुदको गतिविधि हुँदा खेल र खेलाडीले मात्र अवसर पाइरहेका हुँदैनन् । त्यहाँका स–सानादेखि ठुला व्यावसायी र हरेक क्षेत्र मानिसहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक फाइदा पुगिरहेको हुन्छ । फुटबल, क्रिकेट विश्व कप जस्ता धेरै प्रतियोगिताले आयोजक राष्ट्रको आर्थिक समृद्धिमा टेवा पु¥याइरहेको हुन्छ । 

नेपालगञ्ज सङ्घीयता पछि केहि कमजोर बनेको आभास यहाँका आम मानिसमा परेको छ । तर नेपालगञ्जले आफूलाई खेलकुदको माध्यमबाट आर्थिक हबको रूपमा विकास गर्न सक्छ । केहि अवसर गुम्दा नयाँ सम्भावनाको उजागर भइरहेको हुन्छ । नेपालगञ्जका लागि खेलकुद नयाँ अवसर बन्न सक्छ । खेलकुदको विकास गर्दै ठुुला प्रतियोगिता नेपालगञ्जको समृद्धिको आधार बन्न सक्छ ।

प्रतिक्रिया