Listen LIVE

एक महिनामा करिब दुई किलो ब्राउन सुगर बरामद

नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिएसँगै एक महिनाको अवधिमा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीले गत साउन महिनामा जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सहित ३१ जनालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन महिनामा लागुऔषधसम्बन्धी १७ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट ब्राउनसुगर, नाइट्राजेपाम र गाँजासमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उक्त अवधिमा १ किलो ८ सय ५५ ग्राम ब्राउनसुगर, १ सय ६० ट्याबलेट नाइट्राजेपाम र २ किलो २ सय ६० ग्राम गाँजा बरामद भएको छ । प्रहरीले लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाउँदै विभिन्न स्थानमा जाँच तथा कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।

भारतसँग खुला सीमा जोडिएको बाँके लागुऔषध ओसारपसारका दृष्टिले संवेदनशील जिल्लाका रूपमा रहेको छ । सीमावर्ती क्षेत्रको फाइदा उठाउँदै भारतबाट लागुऔषध भित्र्याउने र बाँके हुँदै अन्य जिल्लासम्म पुर्याउने प्रयास हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया