Listen LIVE

नेपालगञ्ज बसपार्क भित्रको कुलिङ सेन्टर प्रभावकारी बन्दै

नेपालगञ्ज : अत्यधिक गर्मी हुने बाँकेको नेपालगञ्जमा करिव छ महिनाअघि स्थापना गरिएको शितलन केन्द्र (कुलिङ सेन्टर) प्रभावकारी हुँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ स्थित बसपार्कभित्र स्थापना भएको सो केन्द्रमा निःशुल्करुपमा यात्रु तथा श्रमिकले शितलतासँगै आराम गर्न पाएका छन् ।

खास गरी प्रचण्ड गर्मी हुने दिउँसो १२ः०० बजे देखि ३ः०० बजेसम्म सो केन्द्रमा बसेर बसपार्कका लामो दूरीका यात्रु तथा श्रमिकले शितलता अनुभव गरेको शितलन केन्द्र (कुलिङ सेन्टर) जयश्री बागेश्वरी यातायात व्यवस्थापन समितिका कर्मचारी नवीन बुढाथोकीले जानकारी दिए । उनले केन्द्रमा यातायात कर्मचारी, लामो दुरीका यात्रुहरु आउने गरेको उल्लेख गर्दै थाहा नभएकालाई निःशुल्क प्रवेश हो भनेर पनि शितलन केन्द्रमा ल्याउने गरिएको बताए ।

गर्मीमा नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा आएकाले यो केन्द्रका विषयमा धेरैलाई जानकारी नभएको बुढाथोकीको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको विपद सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले शितलन केन्द्रको मर्मत, सम्हार र रेखदेखका लागि नीजि क्षेत्रसँग सहकार्य गरेको जानकारी दिदै यसको परिणामका विषयमा टीप्पणी गर्ने समय नभएको बताए । उनले यस्तो प्रकारको अभ्यास नमूना परियोजनामार्फत भएको उल्लेख गर्दै यस बर्ष पहिलो गर्मी भएकाले परिणाम आउँन बाँकी रहेको जानकारी दिए । उनले भने, 'यसलाई नियमितरुपमा प्रभावकारी तरिकाले सञ्चालन गर्न निजि क्षेत्रसँग सहकार्य भएको छ र सञ्चालन मोडेल पनि परीक्षणमा रहेको छ ।'

श्रेष्ठले प्रचार प्रसारको अभावले नेपालगञ्जमा शितलन केन्द्र भएको विषयमा धेरैलाई जानकारी नभएकाले जानकारी दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा सञ्चालनमा आएको यो केन्द्रमा नेपालगञ्ज उपमहानगरपालिकाको २७ लाख लागतमा निर्माण सम्पन्न भएको थियो । केन्द्रमा नेपाल रेडक्रस सोसाइटीले रु१२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको छ । वातावरणमैत्री संरचनायुक्त केन्द्रमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहेको छ । १ हजार २९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको केन्द्रमा छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड लगाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीले १/१ थान वाटर कुलर र वाटर ट्यांकी, २ टन क्षमताका इन्भर्टरयुक्त ४ वटा एसी, ८ वटा पंखा, ६० सिट क्षमताको फलामको कुर्सी ३ सिटे २० थान, १४ वटा एलइडी बल्बलगायत सहयोग गरेको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सुपर परियोजनासँगको सहकार्यमा हिट वेभमा काम गरिरहेको छ । उपमहानगरपालिकाले नेपालगञ्ज १२ मा पनि त्यस्तो प्रकारको शितलन केन्द्र बनाउने तयारी गरिरहेको बताइएको छ । जल तथा मौसम विभाग, कोहलपुरका अनुसार नेपालगञ्जमा पछिल्लो समय तापक्रम बढ्दै गएको छ ।

प्रतिक्रिया