Listen LIVE

बर्दियामा ५२ जना क्षयरोगका बिरामी फेला

बर्दिया : बर्दियामा एआई एक्सरे विधिबाट भएको क्षयरोग जाँच शिविरमा ५२ जना क्षयरोगका बिरामी फेला परेका छन् । बर्दियाको तीन वटा पालिकामा गरिएको क्षयरोग जाँच शिविरमा ती बिरामी भेटिएका हुन् ।

शिविरमा गुलरिया, राजापुर र बारबर्दिया नगरपालिकाका चार हजार पाँच सय ८७ जनालाई  ए आई एक्सरे विधिबाट क्षयरोग जाँच गरिएको थियो । जसमध्ये एक हजार एक सय ६३ जना व्यक्तीहरू शङ्कास्पद क्षयरोगका बिरामी भेटिएका थिए । उनीहरूलाई जि एक्सपर्ट विधिबाट खकार जाँच गर्दा ५२ जनामा क्षयरोग फेला परेको बिराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक कर्णध्वज चन्दले जानकारी गराए ।

उनका अनुसार राजापुर नगरपालिकामा दुई हजार एक सय चार जनाको जाँच गर्दा २३ जना, बारबर्दिया नगरपालिकामा एक हजार सात सय १८ जनाको जाँच गर्दा १८ जना र गुलरिया नगरपालिकामा सात सय ६५ जनाको रगत जाँच गर्दा ११ जना क्षयरोग पोजेटिभ फेला परेको हो । 

क्षयरोग फेला परेका बिरामीहरूलाई सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । हाल सम्म ४९ जना बिरामीहरू स्वास्थ्य संस्थाको सम्पर्कमा आएर औषधी खान सुरु गरिसकेको संयोजक चन्दले बताए ।

बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले यस वर्ष एक हजार सात सय १८ जनाको एआई प्रविधिबाट क्षयरोग जाँच गरिएको र आगामी वर्षमा पनि क्षयरोग जाँचका लागि कार्यक्रम राखिने बताए । खकार जाँच महँगो पर्ने र एआई एक्सरे प्रविधि लुम्बिनी प्रदेशमा एक मात्र मेसिन भएकोले जाँचमा समस्या भएको बताए ।

हावा र श्वासप्रश्वासको माध्यमबाट सर्ने क्षयरोग समयमा पत्ता लगाएर औषधी खाएपछि निको हुन्छ । एक जना बिरामीले १० जना निरोगीलाई रोग सार्न सक्ने भएकोले यसको खोजपड्ताल र उपचार जरुरी भएको स्वास्थ्य कार्यालय बर्दियाकी सूचना अधिकारी पद्मा कुमारी श्रेष्ठले बताए । उनले यस पटक लुम्बिनी प्रदेशले सहयोग गरेको भएर गाउँगाउँमा गएर धेरै मान्छे जम्मा गरेर क्षयरोग जाँच गरिएको बताए । उनले स्वास्थ्य संस्थाहरूमा पनि फाटफुट बिरामी फेला पर्ने गरेको बताउँदै स्वास्थ्य संस्थामा खोकी लागेर आउने बिरामीलाई खकार जाँच गरेर बिरामी पत्ता लगाउने गरेको बताए । स्वयंसेविकालाई क्षयरोगको बिरामी खोज्नका लागि परिचालन गर्दै आएको उनले जानकारी गराए ।

प्रतिक्रिया