हुम्ला : नाँम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका तीन गाउँलाई यतिबेला उवा छर्ने चटारो छ । सदा झै यस वर्ष लिमीवासीले दुई महिनापछि उवा छर्ने गरेको पाइएको हो ।
लिमीको हल्जी गाउँका खेण्डाप तामाङले यतिबेला लिमीका किसानहरुलाई बारीमा उवा छर्ने चटारो शुरु भएको बताए । उनले खेतीपातीको समय सुरु भएको कारण काठमाडौं र चीनको ताक्लाकोटमा काम गर्न गएका लिमीवासी समेत गाउँमा फिर्ता भएर उवा छर्ने कार्यमा ब्यस्थ्य भएको बताए ।
लिमीका लागि उवा मुख्य बालीमा पर्छ । उनले लिमीमा जग्गा जोत्नका लागि भने घोडालाई प्रयोग गरिने बताउदै एउटै घोडाले जोतेर उवा छर्ने कार्य पुरा हुने गरेको बताए । जिल्लाका अन्य बस्तीमा यसरी घोडाले जोत्ने गरिँदैन । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष दुई महिना ढिलो गरि उवा छर्ने कार्य किसानले गरि रहेको बताए ।
यसअघि चैत महिनामा उवा छर्ने गरिन्थ्यो । उनले तिब्बतीय पात्र हेर्दा दुई महिना ढिलो गरि उवा छरे बाली राम्रो लाग्ने प्राविधिक सुझावका आधार ढिलो गरि छरिएको बताए । खाद्य वालीमा लिमीमा उवा बाली मात्र पाक्ने गर्छ । उनले लिमीका तीन गाउँ तील, हल्जी र जाङ गाउँका किसानलाई यतिबेला बिहानैबाट बेलुकासम्म उवा छर्ने चटारो भएको बताए । किसानहरु दुई महिना ढिलो गरि छरेको कारण केही अचम्मित पनि देखिनुभएको छ ।
अर्को कुरा खेतीपातीको समय शुरु भएका कारण घरपरिवारका सदस्यहरु सबै जम्मा भएको कारण खुसीयाली समेत गर्ने गरिन्छ । गत कात्तिक महिनामा लिमी छोडेर हिँडेका स्थायीय यतिबेला गाउँमा फिर्ता भएका छन् । उक्त बाली लिमीमा वर्षमा एक पटक मात्र पाक्ने गर्छ ।