नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–३ अन्तर्गत पर्ने हल्कारापुर्वामा बिहानको सुरुवात अरू गाउँभन्दा फरक ढंगले हुन्छ। घाम नउदाउँदै गाउँ अझै निद्रामै हुन्छ, तर गोठहरू भने जागिसकेका हुन्छन्। भैँसीको घण्टी बज्ने आवाज, दूध दुहिने गाग्रीको टनटनाहट र खेततिर लाग्ने किसानका पाइला—यिनै आवाजले यो गाउँको पहिचान बनाएका छन्।
केवल ३४ घरपरिवार रहेको यस यादव बस्तीमा अहिले ६ सयभन्दा बढी भैँसी छन्। यहाँ भैँसी नपाल्ने घर भेटिनु दुर्लभ छ। यही कारण स्थानीयले हल्कारापुर्वालाई æदूध उत्पादनको गाउँÆ भनेर चिनाउन थालेका छन्। गाउँबाट मात्रै दैनिक करिब ६ सय लिटर दूध बजार पुग्ने गरेको छ, जसले यहाँको मुख्य आयस्रोतको रूपमा भैँसीपालनलाई स्थापित गरेको छ।
हल्कारापुर्वाका रामसोहन यादवको दैनिकी बिहान ३ बजेबाटै सुरु हुन्छ। उमेरले ६ दशक पार गरिसक्दा पनि उनको दैनिकी अझै भैँसीकै वरिपरि घुम्छ। पुस्तौँदेखि चल्दै आएको पेशालाई निरन्तरता दिँदै उनले अहिले पनि ठूलो संख्यामा भैँसी पालिरहेका छन् ।
उनीसँग पाडापाडीसहित १५० भैँसी छन्, जसमध्ये ५२ वटा दुहुना छन्। उनको घरबाट मात्रै दैनिक ३०० लिटर दूध कम्दीस्थित मिलनचोक बजार पुग्छ। यति ठूलो व्यवस्थापनका लागि परिवारका सबै सदस्य खटिएका छन् । छोराछोरीदेखि बुहारी र नातीनातिनासम्म।
हल्कारापुर्वाको अर्को विशेषता भनेको यहाँका युवाहरूको भैँसीपालनप्रतिको आकर्षण हो। ३१ वर्षीय विष्णुप्रसाद यादवसँग १९ वटा मुर्रा भैँसी छन्। उनका अनुसार भैँसीपालनबाट हुने आम्दानी जागिरभन्दा बढी छ।
æजागिर गर्दा अर्काको आदेश मान्नुपर्छ, यहाँ आफ्नै काम हो,Æ उनले भने।
त्यस्तै, रामफेरन यादवले पनि तीन दर्जनभन्दा बढी भैँसी पाल्दै आएका छन् । सानैदेखि सिकेको पेशा भएकाले उनलाई यही काम सजिलो र भरपर्दो लाग्छ।
गाउँमा अहिले स्थानीय जातभन्दा मुर्रा भैँसीतर्फ किसानको आकर्षण बढ्दो छ। बढी दूध दिने भएकाले किसानहरू क्रमशः मुर्रा जाततर्फ सर्दै गएका छन्।
रामफेरनले डेढ लाख रुपैयाँमा मुर्रा भैँसी खरिद गरेको बताउँछन् । æकिन्दा महँगो पर्छ, तर दूध धेरै दिने भएकाले छिट्टै लगानी उठ्छ,Æ उनको भनाइ छ। उहाँको घरबाट मात्रै दैनिक ५० लिटरभन्दा बढी दूध उत्पादन हुन्छ।
हल्कारापुर्वाका किसानलाई चरिचरनको ठूलो समस्या छैन। हिउँद र बर्खामा उनीहरू गोठलाई गाउँबाट करिब १० किलोमिटर टाढा खजुरागौडी जंगल क्षेत्रमा सार्छन्। नजिकै बग्ने डुडुवा खोलाले भैँसीपालनलाई अझ सहज बनाएको छ। खोलामा भैँसी आहाल बस्न पाउँछन् र पानीको अभाव हुँदैन।
यति ठूलो परिमाणमा दूध उत्पादन हुने गाउँ भएपनि किसानहरू सरकारी सेवा–सुविधाबाट भने अझै टाढा छन्। स्थानीय दिनेशप्रसाद यादवका अनुसार किसानका लागि भनिने अनुदान गाउँसम्म पुगेको छैन।
फार्म दर्ता, पान नम्बर र लेखापरीक्षणजस्ता प्रक्रियाले किसानलाई झन् अप्ठ्यारो बनाएको छ। æहामी दिनभर भैँसी चराउने मान्छे, यी कागजात मिलाउने समय र पहुँच कहाँ हुन्छ?Æ उनको गुनासो छ।
देशमा सरकार फेरिए पनि हल्कारापुर्वाका किसानको जीवनमा खासै परिवर्तन आएको छैन। पुस्तौँदेखि भैँसीपालन गरेर जीवन धानिरहेका उनीहरू अहिले पनि सरकारी सहयोग र नीतिगत सुधारको प्रतीक्षामा छन्।
हल्कारापुर्वाको कथा केवल एउटा गाउँको कथा होइन। यो मिहिनेत, परम्परा र आत्मनिर्भरताको जीवन्त उदाहरण हो—जहाँ भैँसीको घण्टीसँगै गाउँको अर्थतन्त्र चलिरहेको छ, तर सरकारी पहुँच अझै पुग्न बाँकी छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार