Listen LIVE

धम्बोजीदेखि नन्दनी मिलसम्मको सडक विस्तारले गति लिँदै

नेपालगञ्ज : नेपालगञ्जको व्यस्त र मुख्य सडकखण्डका रूपमा रहेको धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको सडक विस्तार गर्ने योजनाले पुनः गति लिन थालेको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो एक हजार नौ सय मिटर लामो सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्न हुलाकी सडक योजना कार्यालय नेपालगञ्जले आफ्नो सक्रियता बढाएको हो । 

सडक विस्तारका लागि हुलाकी सडक योजना कार्यालयले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र सम्बन्धित क्षेत्रका वडाध्यक्षसँग चारबुँदे लिखित समझदारी गरिसकेको छ । सहमति अनुसार सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ १५–१५ मिटर गरी जम्मा ३० मिटरको …राइट अफ वेÚ खाली गराइने छ । यसका लागि कार्यालयले गोरखापत्रमा सूचना प्रकाशन गरिसकेको छ भने स्थानीयलाई सडकसीमा खाली गर्न अनुरोध गर्दै दैनिकरूपमा बिहान र बेलुका माइकिङ गर्ने कार्य भइरहेको छ । 

प्राविधिक तथ्याङ्क अनुसार यो सडकखण्ड विस्तार गर्दा करिब १५९ वटा घरटहरा सडकसीमाभित्र पर्ने देखिएका छन् । यस पटक नेपाल राष्ट्र बैङ्कको कम्पाउन्ड वाल जस्ता क्षेत्र पनि सडक विस्तारको दायरामा परेका छन् । हुलाकी सडक योजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले विगतमा १० मिटर मात्र भत्काएर सडक विस्तार गर्दा पूर्ण मापदण्ड कायम हुन नसकेको र अहिले पुनः थप पाँच मिटर भत्काउनुपर्ने अवस्था आएको जानकारी दिए । 

उनका अनुसार सडकसीमा अतिक्रमण रोक्नु र सुरक्षित राख्नु सरकारी निकाय र स्थानीय नागरिक दुवैको दायित्व हो । 'पहिलो पटक सडक चौडा गर्दा सडकको केन्द्रविन्दुदेखि दायाँबायाँ पन्ध्र मिटर भत्काइदिएको भए दोहोरो खर्च हुने थिएन । स्थानीयले दस मिटर मात्रै भत्काउनुभयो, हामीले दस मिटर मात्रै भन्यौँ पहिला,' उनले भने, 'अब अहिले फेरि थप पाँच मिटर भत्काउनुपर्ने भयो । त्यसकारण सडकसीमा अतिक्रमण हुन नदिनु र अतिक्रमण नगर्नु दुवै पक्षका लागि हितकर नै हुन्छ ।'

प्रतिक्रिया