Listen LIVE

बाँकेमा पोषण परियोजना शुरु

नेपालगञ्ज : पोषण सुधारका लागि बाँकेमा जीवनका लागि पोषण परियोजना सुरु भएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका, गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको पोषण सुधारका लागि परियोजना सुरु भएको हो । हेलेन केलर इन्टरनेशनलको साझेदारी र जिल्ला स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके युनेस्को क्लबले परियोजना सञ्चालन गर्दैछ । 

आज नेपालगञ्जमा परियोजना परिचयात्मक कार्यक्रम गरिएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत सरोकारवाला उपस्थित कार्यक्रममा परियोजनाबारे जानकारी दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेलेन केलरका लिल बहादुर नेपालीले एक बर्षे परियोजनाबारे जानकारी गराएका थिए । 

जिल्ला समन्वय समिति प्रमुख चौधरीले एकीकृत पहलबाट पोषण सुधारका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए । नगर प्रमुख प्रशान्त विष्टले पोषण अवस्थामा सुधार ल्याउन सबैको हातेमालो र प्रतिबद्धतामा जोड दिए । हेलेन केलर इन्टरनेशनलका लुम्बिनी प्रदेश कार्यक्रम प्रमुख शशिदेव शाहले परियोजना सञ्चालन गर्नुको पृष्ठभूमि, आवश्यकता र उद्देश्यबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगञ्ज २० का वडा अध्यक्ष कौशल कुमार धोबी, बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज कुमार गौतम लगायतले बोलेका थिए । लुम्बिनी प्रदेश र मधेश प्रदेशमा कुपोषणको समस्या विकराल छ । यही अवस्थालाई मध्यनजर गर्दै परियोजना सुरु गरिएको हो । बाँकेमा पनि मधेशी समुदायमा कुपोषण जटिल अवस्थामा रहेको सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया