Listen LIVE

चितवनमा भेटिए २३३ शव, सुख्खा बरफको अभाव

नारायणगढ : भोटेकोशीमा आएको बाढीका कारण बगाएर ल्याइएका शव चितवनमा भेटिने क्रम जारी छ। जिल्लामा हालसम्म २३३ शव फेला परेका छन्। शवको संख्या बढ्दै गएपछि तिनको व्यवस्थापनमा चुनौती थपिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले शव व्यवस्थापनका लागि सरकारको निर्णय कुरिरहेको बताए।

'शव भेटिने क्रम जारी छ। यसको व्यवस्थापनमा सरकारले के निर्णय गर्छ, त्यहीअनुसार अगाडि बढ्ने हो,' उनले भने। शव खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई नारायणी नदी किनारमा परिचालन गरिएको छ।

हाल संकलित शवहरू भरतपुर अस्पताल र औद्योगिक प्रतिष्ठानको भवनमा बनाइएको शव पहिचान कक्षमा राखिएको छ। शव सड्न नदिन ड्राइ आइस 9सुख्खा बरफ) आवश्यक पर्ने भए पनि अहिलेसम्म उपलब्ध हुन सकेको छैन।

सुख्खा बरफको अभावमा संकलित शव छिट्टै दुर्गन्धित हुने अवस्था आएको छ। बढ्दो गर्मी तथा घामपानीका कारण शवलाई चिसोमा राख्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन्। शवलाई चिस्यानमा राख्न नसकिए आवश्यक प्रक्रिया पूरा गरी अन्त्येष्टि गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया