बर्दिया : मृर्गौलाका बिरामी गुलरिया नगरपालिका–६ का अर्जुन गोडियाले डायलाइसिसका लागि पालो कुरेको तीन दिन भयो ।
नियमित कक्षमा डायलाइसिसको पालो पाउने टुंगो नहुँदा तीन दिनपछि बर्दिया अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेको उनले बताए । राजापुर–३ का लखन थारु अस्पतालमा डायलाइसिस सेवा नपाएपछि नेपालगञ्ज गएका छन् ।
बर्दिया अस्पतालमा दैनिक ६ वटा मेसिनबाट डायलाइसिस सेवा सञ्चालन भइरहे पनि बिरामीको संख्या धेरै भए पछि धेरै दिनसम्म पालो कुर्नु परेको छ । अस्पतालमा दैनिक १० देखि १५ जना डायलाइसिस गराउन गरेका छन् ।
०८१ वैशाख ११ मा लुम्बिनी प्रदेश सरकारको सहयोगमा पहिलो पटक बर्दियामा हेमोडायलाइसिस सेवा सञ्चालनमा आएको हो । अस्पतालमा हाल ६ वटा डायलाइसिस मेसिन सञ्चालनमा आए पनि एउटा आकस्मिक सेवाका लागि छुटटाइएको छ । पाँच वटा मेसिनबाट दैनिक १२ जना बढीले सेवा पाइरहेको स्टाप नर्स सृजना सुनारले बताइन् । 'इमरजेन्सीमा दैनिक २ देखि ३ जना विरामी आउने गरेका छन्,' उनले भनिन्, 'एक जनालाई मेसिनबाट उपचार गर्न दिनमा ४ घण्टा लाग्छ र सातामा ६ दिन मसिन चल्छ ।'
विरामीको चाप बढी हुने भएकाले प्रतिक्षामा बस्नुपरेको उनले बताइन् । कतिपय विरामी छिट्टै पालो नपाएपछि नेपालगञ्ज, कोहलपुर, काठमाडौं गएर उपचार गराउनु पर्दा खर्च बढी बेहोर्न बाध्य भएका छन् ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेडेन्ट डा. सुभाष पाण्डेयले ६ वटा मेसिन संचालनका लागि एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स, एक बायोटेक्निसियन र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको बताए । थप ६ वटा मेसिनसहित त्यसका लागि आवश्यक हुने एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स, एक जना बायोटेक्निसियन र एक जना कार्यालय सहयोगीको दरबन्दी उपलब्ध भए डायलाइसिस सेवा लिनबाट जिल्लाका विरामी बाहिर जानु नपर्ने उनले जनाए ।
हाल सञ्चालनमा रहेको डायलाइसिस मेसिन पर्याप्त नभएको उनले बताए । डायलायसिस सेवा लिन आउनेका लागि उपचार कक्षनजिक शौचालय पनि आवश्यक भएको उनले सुनाए । एउटा डायलाइसिस मेसिन खरिद गर्न २५ लाख रुपैयाँ माथि लाग्ने भएकाले अपस्ताल आफैैंले व्यवस्थापन गर्न सहज नभएको डा. पाण्डेयले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार