नेपालगञ्ज : नेपाल–भारत सीमासँग जोडिएको बहराइच–नेपालगञ्ज रोड रेलखण्डमा मिटरगेजबाट ब्रा‘डगेजमा रूपान्तरणको काम सम्पन्न भएपछि रेल सञ्चालनको तयारी तीव्र पारिएको छ। सोही क्रममा भारतीय रेल विभागका उच्च अधिकारीहरूले नेपालगञ्ज रोड स्टेशनको निरन्तर निरीक्षण गरिरहेका छन्।
लखनऊ मण्डलका अतिरिक्त मण्डल रेल प्रबन्धक -एडीआरएम) भुवनेश सिंहले आफ्नो टोलीसहित नेपालगञ्ज रोड रेलवे स्टेशनको निरीक्षण गरेका हुन्। निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोण्डा–नेपालगञ्ज रोड खण्डमा छिट्टै रेल सेवा सञ्चालन गरिने रुपईडिहाबाट सहकर्मी सन्तोष शुक्लाले जानकारी दिए ।
उनका अनुसार केही प्राविधिक तथा व्यवस्थापकीय कमीहरू अझै बाँकी रहेकाले ती सुधार गरेलगत्तै रेल सञ्चालन सुरु गरिनेछ।
भारतको रेल मन्त्रालयले नेपाल सीमा नजिक रहेको उक्त स्टेशनको निर्माण तथा मिटरगेजलाई ब्रा‘डगेजमा परिवर्तन गर्न ३ अर्ब ४२ करोड भारतीय रुपैयाँ विनियोजन गरेको थियो। सो बजेटबाट अत्याधुनिक रेलवे स्टेशन निर्माण हुनुका साथै नयाँ ब्रा‘डगेज रेलमार्ग बिछ्याउने कार्य सम्पन्न भइसकेको छ।
यसअघि १७ सेप्टेम्बर २०२५ मा प्रमुख विद्युत इन्जिनियर संजय सिंघलले, १९ सेप्टेम्बर २०२५ मा रेल संरक्षा आयुक्त प्रणजीव सक्शेनाले तथा डीआरएम गौरव अग्रवालले निरीक्षण गरी सञ्चालनका लागि हरियो झण्डा दिएका थिए। त्यसपछि ११ अप्रिल २०२६ मा गोरखपुरका महाप्रबन्धक उदय बोरवणकर र डीआरएम गौरव अग्रवालले पुनः निरीक्षण गरेका थिए।
रेलमार्गमा परीक्षणका क्रममा १२० किलोमिटर प्रतिघण्टाको गतिमा रेलसमेत गुडाइएको भएपनि करिब ६ महिना बितिसक्दासमेत नियमित सेवा शुरु हुन नसकेको स्थानीयवासीको गुनासो छ।
हाल पुनः निरीक्षण भइरहेकाले अब छिट्टै गोण्डा–नेपालगञ्ज रोड रेल सेवा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार