Listen LIVE

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप चैतमा हुने

काठमाण्डौ : नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा आगामी चैत दोस्रो साता नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप आयोजना हुने भएको छ।

एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिप चैत ८ र ९ गते (मार्च २१–२२) काठमाडौंमा हुने जानकारी दिएको हो।

दुई दिन सञ्चालन हुने प्रतियोगितामा क्लाइम्बिङको तीनमध्ये लिड र बोल्डर गरी दुई विधामा प्रतिस्पर्धा गराउने एसोसिएसनका अध्यक्ष रमेश पौडेलले जानकारी दिए।

राष्ट्रिय स्तरको खुला प्रतियोगिता भएको हुनाले राष्ट्रिय खेलाडी र १४ वर्षमाथि उमेर भएका इच्छुक खेलाडीले भाग लिन पाउने आयोजकले जनाएको छ।

प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आईएफएसी) द्वारा प्रतिपादित नियम र मापदण्ड अनुसार सञ्चालन गरिनेछ। प्रतियोगिताको पहिलो दिन पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड हुनेछ। त्यसबाट महिला र पुरुषमा ८–८ खेलाडी फाइनल राउण्ड छनोट गरिनेछ।

फाइनल राउण्ड दोस्रो दिन हुने आयोजकले जनाएको छ। महिला तथा पुरुषको फाइनल राउण्डको प्रतिस्पर्धापछि उनीहरूले पाएको अंकको आधारमा विजेता उपविजेता र तेस्रो स्थानमा आउनेको घोषणा गरिनेछ। विजेतालाई नगदसहित मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ।

प्रतियोगितामा करिब ६० खेलाडी सहभागी हुने अपेक्षा छ। प्रतियोगिताका प्रतिस्पर्धा ठमेल स्थित एस्ट्रेक र काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमध्ये कुनै एक स्थानमा आयोजना गरिने एसोसिएसनका अध्यक्ष  पौडेलले जानकारी दिए।

प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ लाग्ने र त्यसका लागि राष्ट्रिय खेलकुद परिषद् र विभिन्न प्रायोजकसँग कुरा भइरहेको संघका अध्यक्ष पौडेलले बताए।

प्रतिक्रिया