Listen LIVE

फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा

काठमाण्डौ : ड्रामा, रोमान्स र एड्भेन्चर मिश्रित फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ ।

फिल्मले सुखद ओपनिङ गर्ने संकेत देखिएको छ । यद्यपि, यसको बक्सअफिस डेटा सार्वजनिक भएपछि यसबारे पुष्टि हुनेछ ।

प्रारम्भिक ओपनिङलाई लिएर अनमोल केसीसहितका कलाकार खुसी देखिएका छन् । शुक्रबार बिहान उनीहरू कमलपोखरीस्थित एक हलमा पुगे जहाँ उनीहरूले दर्शक भेटघाट गरे ।

मिडियासँग पनि कुराकानी गरे । अनमोलले दर्शकको खुसी नै ठूलो प्रेरणा रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘हल बुकिङ भएको देख्दा दर्शकले हाम्रो फिल्मको प्रतीक्षा कति व्यग्रतासँग गर्नुभएको रहेछ भन्ने महसुस भयो । बिहानको सुरुवात राम्रो भएको छ र दर्शकको खुसी नै हाम्रो ठूलो प्रेरणा हो ।’

अनमोलसँगै उनका को–स्टारहरू जसिता गुरुङ र आँचल शर्मा पनि त्यहाँ पुगेका थिए ।

जसिताले भनिन्, ‘दर्शकले नेपाली फिल्ममा सगरमाथालाई लिएर राम्रो फिल्म बनाइदिनुभएको छ भन्ने सुन्दा मलाई धेरै खुसी लाग्यो ।’

दर्शकको यस्तै उत्साहपूर्ण प्रतिक्रियाले आफूलाई झन् खुसी बनाएको उनि जसिताको कथन छ ।

आँचलले भनिन्, ‘दर्शकको उत्साहले हामीलाई झनै उत्साहित बनाएको छ । लामो समयपछि दर्शकलाई प्रत्यक्ष भेट्दा निकै खुसी लागेको छ ।’

उनीहरूका अनुसार, हिजोदेखि नै एड्भान्स टिकट बिक्री सन्तोषजनक देखिएको छ र पहिलो दिनमै धेरै हल ‘हाउसफुल’ छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘जेरी अन टप’ पर्वतीय यात्राको क्रममा विकसित हुने सम्बन्ध, प्रेमको कथामा केन्द्रित छ ।

फिल्ममा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी, उषा खड्गी लगायतका कलाकारको अभिनय छ ।

सुयोग गुरुङ निर्देशित फिल्मले शुक्रबार कम्तीमा २०० शोज प्राप्त गरेको देखिएको छ ।

प्रतिक्रिया