Listen LIVE

निर्वाचनमा लज्जास्पद हारपछि एमालेमा नेतृत्व परिवर्तनको बहस

काठमाण्डौ : प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। सतहमा केही नेताहरूले मात्र बोलेका भए पनि आन्तरिक रूपमा नेतातहमा नेतृत्व परिवर्तनबारे गम्भीर छलफल सुरु भएको बताइएको छ।

निर्वाचन परिणामपछि नेता विष्णु पौडेल ले पार्टीका कमजोरी र गल्तीको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। उनले जनताको अपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गर्दै नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्। साथै उनले पार्टीलाई सुदृढ बनाउँदै जनता र राष्ट्रको सेवामा समर्पित भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै नेता प्रदीप ज्ञवालीले पनि आवश्यक परे नेतृत्व परिवर्तनको विकल्पतर्फ जान सकिने संकेत दिएका छन्। ज्ञवालीले केही पदाधिकारीहरूसँग यस विषयमा अनौपचारिक छलफलसमेत गरेको स्रोतको भनाइ छ।

यता महासचिव शंकर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत र राजन भट्टराई भने तत्काल नेतृत्व परिवर्तनको पक्षमा देखिएका छैनन्।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले नै नेतृत्वको विकल्पबारे चर्चा गर्न थालेपछि एमालेभित्रको आन्तरिक राजनीति थप चासोको विषय बनेको छ। साथै ईश्वर पोखरेल निकट नेताहरू भने महाधिवेशनयतादेखि नै असन्तुष्ट रहेको बताइन्छ।

प्रतिक्रिया