Listen LIVE

नदीजन्य पदार्थको अवैध तस्करीविरुद्ध बाँके प्रहरी सक्रिय

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो चार महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीमा संलग्न ९६ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको तथ्यांक अनुसार उक्त अवधिमा कारबाहीबाट कुल ६ लाख ३३ हजार ९ सय ७० रूपैयाँ राजश्व संकलन भएको छ ।

प्रहरीका अनुसार, सबैभन्दा बढी कारबाही जेठ महिनामा भएको छ । उक्त महिनामा ३१ वटा सवारी साधन नियन्त्रणमा लिँदै १ लाख ८७ हजार रूपैयाँ राजश्व संकलन गरिएको थियो । त्यसअघि बैशाखमा २९ वटा सवारी साधनमाथि कारबाही गरी १ लाख ५३ हजार रूपैयाँ जरिवाना असुल गरिएको थियो ।

त्यसैगरी चैत्र महिनामा २१ वटा सवारी साधन नियन्त्रणमा परेका थिए । ती सवारी साधनबाट १ लाख ५० हजार रूपैयाँ जरिवाना संकलन भएको प्रहरीको विवरणमा उल्लेख छ । असार महिनामा १५ वटा सवारी साधनमाथि कारबाही हुँदा १ लाख ४३ हजार ९ सय ७० रूपैयाँ राजश्व संकलन भएको छ ।

चार महिनाको समग्र तथ्यांकले बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानी अझै नियन्त्रणमा आउन नसकेको देखाउँछ । नियमित अनुगमन र कारबाही भइरहेको भए पनि अवैध रूपमा नदीजन्य पदार्थ निकाल्ने तथा ढुवानी गर्ने गतिविधि निरन्तर देखिएको प्रहरीको कारवाहीको तथ्यांकले देखाउँछ ।

बाँकेका विभिन्न नदी तथा खोलाबाट अनुमति बिना ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा ढुवानी हुने गरेको भन्दै स्थानीयवासीले समय–समयमा गुनासो गर्दै आएका छन् । यस्ता गतिविधिले एकातर्फ सरकारी राजश्वमा क्षति पुग्नुका साथै अर्कोतर्फ नदीको प्राकृतिक बहाव, वातावरणीय सन्तुलन तथा आसपासका बस्तीमा समेत नकारात्मक प्रभाव पार्ने उनीहरू बताउँछन् ।

प्रतिक्रिया