Listen LIVE

बाँकेका स्थानीय तहहरुले विपद् उद्धार टोली तयार गर्दै

नेपालगञ्ज : बर्षेनी आउने बाढी, आगलागी, अत्यधिक गर्मीमा लु र जाडोमा शितलहर तथा सम्भावित भुकम्पलाई ध्यानमा राखेर बाँके जिल्लाका स्थानीय तहहरुले आफ्नो पालिकामा खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरिरहेको छ ।  

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्जका केही ऐतिहासिक बस्तीमा निकै पुराना तथा जिर्ण घर, साँघुरा बस्ती रहेको तथा भुकम्प, बाढी, डुबान, आगलागी जस्ता प्राकृतिक विपद् आइपरेमा तत्काल उद्दार गर्नका लागि दातृ निकायको सहयोगमा चार सयभन्दा बढी दक्ष जनशक्ति तयार गरिएको जानकारी दिए । 

विपदमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको उनको भनाइ छ । त्यसका लागि निरन्तर तालिम प्रदान गर्नुका साथै कृत्रिम अभ्यास गराइएको छ । 

सोही प्रकारले बाँकेको राप्ती सोनारी गाउँपालिकाले पनि प्राकृतिक विपद् आएमा समुदायस्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने ४९ जना स्थानीय जनशक्ति तयार गरेको जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बाढी, डुबान, आगलागी, भूकम्पलगायत प्राकृतिक विपद् आइपरेमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको बताए । 

उनले विपदको समयमा समस्या तत्काल घटनास्थल गई उद्दारमा खटिनसक्ने गरी गाउँपालिकाका सबै वडाका लागि ४९ जना दक्ष स्वयंसेवक तयार गरिएको बताए ।

अध्यक्ष पौडेलले भने, 'प्राकृतिक विपद पर्नासाथ सुरक्षाकर्मी नपुग्दासम्म समुदायमा के कसो गर्ने भन्ने यसअघि अलमल हुने गर्दथ्यो, अब त्यस्तो अवस्था आउने छैन । अहिले बाढीमा फसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सीपसहितका विपद व्यवस्थापन स्वयम्सेवक तयार भएका छन् ।'

गाउँपालिकाले सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्वगण शम्शेरगञ्जसँगको साझेदारी र समन्वयमा सञ्चालन गरेको १८ दिने तालिमपछि पालिकास्तरीय विपद् व्यवस्थापन स्वयंसेवक तयार गरेको सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्वगण शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम रावतले बताए । 

उनका अनुसार बाढीमा फसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्नेलगायतका तालिम स्वयम्सेवकले लिएका छन् । 

राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मिनकुमार चौधरीले विपद् व्यवस्थापनमा बाह्य उद्धार टोलीको भर पर्नुभन्दा पहिले स्थानीय समुदायलाई नै प्रतिकार्यका लागि तयार पार्ने कार्य प्रभावकारी भएको बताए ।

प्रतिक्रिया