Listen LIVE

कञ्चनपुरमा बाघको आक्रमणबाट चार जना घाइते

कञ्चनपुर : कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन् । मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् ।

कालिकिचबाट करिब दुई किलोमिटर टाढा निकुञ्ज क्षेत्रको हुलाकी सडकमा बाघले आक्रमण गर्दा मोटरसाइकल चालक बेलौरी नगरपालिका–९ खजुवाका वीरेन्द्र ठगुन्ना, उहाँकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स र १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका छन् ।

साँझ करिब साढे ७ बजे बाघले मोटरसाइकल चालक ठगुन्नाको हातमा आक्रमण गर्दा सवारी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक ठगुन्नाको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

त्यस्तै, पछाडि सवार उनकी श्रीमती र छोराको टाउको, अनुहार र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको उनले बताए । पछाडि सवार भान्जी आरुसी साहुको टाउको, अनुहार र हातमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणपछि घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया