Listen LIVE

बाँकेमा २ हजार ९३० अस्थायी मतदाता कायम

नेपालगञ्ज : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा २ हजार ९३० अस्थायी मतदाता कायम गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय बाँकेले ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिएको हो ।

कार्यालय प्रमुख टेकबहादुर शाहीका अनुसार अस्थायी मतदाताका लागि जिल्लामा तीन वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बैजापुरस्थित नौवस्ता कारागार, निर्वाचन क्षेत्र नं.२ अन्तर्गत बाँके कारागार र कर्मचारीहरूका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र तोकिएको छ । 

अस्थायी मतदाताले तोकिएका केन्द्रबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने व्यवस्था छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरकारको स्वामित्व र नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी तथा वृद्धाश्रममा आश्रित व्यक्तिलाई अस्थायी मतदाताको रूपमा समेटिएको कार्यालयले जनाएको छ ।

प्रमुख शाहीले निर्वाचनको सबै तयारी पूरा भइसकेको जानकारी दिँदै सबै निर्वाचन क्षेत्रमा सामग्री पठाउने काम सुरु भएको बताए । “अब करिब १० प्रतिशत काम बाँकी छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने कार्य १७ गतेसम्म जारी रहनेछ,” उनले भने । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिमसमेत सम्पन्न भइसकेको छ ।

जिल्लामा १३९ मतदानस्थल र ४ सय मतदान केन्द्र कायम गरिएको छ । कुल मतदाता सङ्ख्या ३ लाख ५० हजार ३७१ रहेकोमा महिला १ लाख ७२ हजार २२३, पुरुष १ लाख ७८ हजार ३३९ र अन्य ९ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया